रौतहट, २४ मङ्सिर । जिल्लाको ईशनाथ नगरपालिकामा पर्ने लतमरी नाका खुला सीमानाका हुँदै नियम विपरीत चारपाङ्ग्रे गाडीहरूको ओहोरदोहोरमा व्यापक वृद्धि भएको खुलासा भएको छ। सशस्त्र प्रहरीका सप्रसनि सहायक प्रहरी निरीक्षक दिलिप हायुको रकमी चलखेलमा यो कार्य भइरहेको आरोप लागेको छ, जसले सीमा सुरक्षाको संवेदनशीलतामा गम्भीर प्रश्न खडा गरेको हो ।
बुधबार दिउँसो करिब ३ बजेको समयमा लतमरी नाकाबाट प्रवेश गर्ने चारचक्के गाडीहरूको न त औपचारिक दर्ता गरिन्छ न त भन्सार जाँच नै। सवारी साधनभित्र के वस्तु ल्याइएका छन् भन्नेबारे कुनै वास्तविक निरीक्षण नहुनुले सुरक्षा जोखिमलाई अस्वाभाविक रूपमा बढाएको हो । बिना कागजी प्रक्रिया गाडीहरू छिर्ने यो अवस्थाले राज्यका सुरक्षा निकायहरूलाई कमजोर मात्र नदेखाई शासन व्यवस्थाको पारदर्शिता, उत्तरदायित्व र विधि विधानलाई नै कमजोर बनाएको हो ।
रौतहटको सदरमुकाम गौरस्थित मुख्य भन्सार नाकाबाट मात्र चारपाङ्ग्रे गाडी आवतजावत गर्ने आधिकारिक नियम रहेतापनि लतमरी नाकामा खटाइएका सप्रसनि दिलिप हायुले आर्थिक प्रलोभनमा यो नियम मिचेर गाडी ओहोरदोहोर गर्न दिएको तथ्य बाहिरिएको हो ।
स्थानीयवासीहरूले तस्करीका लत्ता–कपडादेखि अन्य अवैध सामग्रीसम्म यिनै नियमनविहीन चारचक्के गाडीमार्फत सीमा नाकामा भित्रिने गरेको आरोप लगाएका छन्। खुला र नियमनविहीन सीमाबाट यस्ता सामग्री सहज प्रवेश पाउनुले वैध व्यापारमा नकारात्मक असर पुगेको हो ।
राज्यको ठूलो मात्रामा राजस्व हानिकारक रूपमा चुहावट भइरहेको छ, जसले आर्थिक अस्थिरता बढाउँछ।
सुरक्षा निकायको गैरजिम्मेवारीपूर्ण भूमिकाले सीमा सुरक्षाको दीर्घकालीन सामरिक मूल्यलाई कमजोर बनाउँछ। सीमा नियन्त्रण क्षमतामा ह्रास आउँदा आपराधिक समूहलाई सशक्त बन्न मद्दत पुग्छ।
अवैध कारोबार, सम्भावित लागुऔषध ढुवानी, हतियार आपूर्ति तथा संगठित अपराधको जोखिम बढ्ने सम्भावनालाई बेवास्ता गर्न सकिँदैन।यस्तो अवस्थाले मुलुकको आन्तरिक सुरक्षा नीतिमै चुनौती खडा गर्छ, किनकि कमजोर सीमा नियन्त्रणले अपराध नियन्त्रणको सम्पूर्ण शृंखलालाई प्रभावित बनाउँछ।
यस विषयमा थप जानकारी लिन खोज्दा सशस्त्र प्रहरीका एसपीको मोबाइल नम्बर ९८५१२७२१०९ मा सम्पर्क गर्न खोजिएको भएपनि फोन रिसिभ हुन सकेको छैन। जिम्मेवार निकायले सीमा क्षेत्रमा भइरहेको यो गैरकानूनी कार्यको तत्काल छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कारबाही गर्नुपर्ने आवश्यकता देखिएको हो ।