रौतहट, १५ मङ्सिर । जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सुन्दरबस्ती टोलबाट अवैध लागूऔषध गाँजाको कारोबारमा संलग्न एक व्यक्तिलाई ठूलो मात्रामा गाँजा र नगदसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सोही ठाउँका ३३ वर्षीय सुमन तामाङ योन्जन रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएअनुसार ।
स्थानीय सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष प्रहरी टोलीले योन्जनलाई आइतबार राति करिब ७ बजे उनको आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरीक्षक अनिल तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले सुमन तामाङ योन्जनले आफ्नै घरमा अवैध लागूऔषध गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गर्ने गरेको गोप्य सूचना प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले योन्जनको घरमा खानतलासी गरेको थियो।
चेकजाँचका क्रममा उनको सुत्ने कोठाको पलङको 'घर्रा' भित्र बिक्रीका लागि तयार पारिएको अवस्थामा प्याक गरिएको ४ किलो ७५० ग्राम अवैध लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाए।
नगद र लागूऔषध बरामद
गाँजाका साथै प्रहरीले लागूऔषध कारोबारबाट आर्जित नेपाली रुपैयाँ ८ हजार १८० समेत बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताका अनुसार, बरामद गरिएको गाँजाको मात्राले योन्जन लामो समयदेखि लागूऔषधको अवैध कारोबारमा सक्रिय रहेको प्रहरीले बताए । यस क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार र कारोबार नियन्त्रण गर्ने प्रहरीको प्रयासमा यो महत्वपूर्ण सफलता हो।
पक्राउ परेका सुमन तामाङ योन्जनलाई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।
नेपालको कानुनअनुसार, लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम गाँजाको कारोबार गर्नु गम्भीर अपराध मानिन्छ र पक्राउ परेका व्यक्तिलाई सोही कानुनअनुसार मुद्दा चलाइनेछ। प्रहरीले उनीसँगको सोधपुछका आधारमा यस कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान र सञ्जालको खोजी गरिरहेको जनाए।