सोमबार २९ मंसिर, २०८२

नेपाली समय

रौतहटको परोहामा एक दिने वृहत् निःशुल्क आँखा शिविर सम्पन्न, ३६८ जना लाभान्वित

रौतहटको परोहामा एक दिने वृहत् निःशुल्क आँखा शिविर सम्पन्न, ३६८ जना लाभान्वित

रौतहट, १३ मङ्सिर । जिल्लाको परोहा नगरपालिकामा रुइत फाउण्डेसनको आर्थिक सहयोग नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल गौर–८ पुरेनवा तथा परोहा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट ३ सय ६८ जनाले आँखा जाँच गराएका छन् भने ११३ जना मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ।

​​शिविरमा आँखा जाँच गराउने कुल ३६८ जनामध्ये महिलाको संख्या १९४ र पुरुषको संख्या १७४ रहेको छ। जाँच गरिएका बिरामीहरूमध्ये ११३ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि छनौट गरिएको कार्यक्रम संयोजक सतेन्द्र पाण्डेले जानकारी दिए।

​जम्मा जाँच: ३६८ जना महिला:१९४पुरुष: १७४

​अपरेशनका लागि छनौट: ११३ जना

​छनौट भएका बिरामीहरूको मोतियाबिन्दुको अपरेशन गौर आँखा अस्पताल, पुरेनवामा निःशुल्क गरिने कार्यक्रम तय भएको हो। अस्पतालले छनौट भएका बिरामीहरूका लागि आइतबार सोमबार र मंगलवार गरी तीन दिनमा शल्यक्रियाको व्यवस्था मिलाएको हो । यसले गर्दा आर्थिक अवस्था कमजोर भएका स्थानीय बासिन्दाहरूलाई ठूलो राहत मिलेको छ। ​आँखा जाँच गराउन आएका बिरामीहरूलाई आवश्यकतानुसार चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको हो भने 

​चश्मा वितरण: १५२ जना

​औषधि वितरण: १७८ जना रहेका थिए। ​शिविरलाई सफल बनाउन गौर आँखा अस्पतालबाट ८ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो। टोलीमा अशोक पासवान, अबताब आलम, अर्चना सिंह, अमित दास लगायतका स्वास्थ्यकर्मीहरू संलग्न थिए।

​त्यसैगरी, परोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जालन्धर यादवको नेतृत्वमा झण्डै १५ जना स्वयंसेवक तथा कर्मचारीले सहयोग प्रदान गर्दै कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। स्थानीय निकाय र स्वास्थ्य संस्थाको समन्वयले शिविर व्यवस्थित बनेको स्थानीयले बताए।

​​शिविरमा आँखा जाँच सेवा मात्र नभई उपस्थित सबैलाई आँखा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जनचेतनामूलक शिक्षा पनि प्रदान गरिएको कार्यक्रम संयोजक सतेन्द्र पाण्डेले जनाए। 

​शिविरले दूरदराजका नागरिकहरूलाई घरदैलोमै निःशुल्क विशेषज्ञ सेवा पुर्‍याएकोमा स्थानीय बासिन्दाले आयोजक संस्थाहरूलाई धन्यवाद दिएका छन्।