सोमबार २९ मंसिर, २०८२

नेपाली समय

गौरमा नवनिर्मित संस्कृत विद्यालयले पायो नेपाल संस्कृत विश्वविद्यालयबाट कर्मकाण्ड प्रशिक्षणको अनुमति

गौरमा नवनिर्मित संस्कृत विद्यालयले पायो नेपाल संस्कृत विश्वविद्यालयबाट कर्मकाण्ड प्रशिक्षणको अनुमति

रौतहट, १० मङ्सिर । जिल्लाको सदरमुकाम गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहको विशेष पहल तथा सक्रियतामा स्थापित एक नवनिर्मित संस्कृत विद्यालयले अब औपचारिक रूपमै शैक्षिक तथा धार्मिक प्रशिक्षण केन्द्रका रूपमा अगाडि बढ्ने ऐतिहासिक अनुमति प्राप्त गरेको छ। गौर–२ मा निर्माण सम्पन्न भएको उक्त विद्यालयले नेपाल संस्कृत विश्वविद्यालयबाट ६ महिने कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि आधिकारिक स्वीकृति पाएको हो ।

​नगर प्रमुख साहले वि.सं. २०८० साल बैशाख २७ गते शिलान्यास गरी द्रुत गतिमा निर्माण सम्पन्न गराउनुभएको यो विद्यालय अब श्री राम लखन हरि साह गुरुकुल विद्यापीठ नामबाट सञ्चालनमा आउने भएको हो । विद्यालयको नामकरण जग्गादाता परिवारको सहमति र सम्मान अनुसार गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिए। 

​यो पहललाई गौर नगरपालिका क्षेत्रमा संस्कृत शिक्षा र धार्मिक कर्मकाण्ड प्रशिक्षणलाई संस्थागत रूपमै अगाडि बढाउने एक ऐतिहासिक र दूरगामी कदमका रूपमा हेरिएको छ। विशेष गरी धार्मिक अनुष्ठान र कर्मकाण्डमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न यो गुरुकुल विद्यापीठले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

​नेपाल संस्कृत विश्वविद्यालयबाट आधिकारिक अनुमति प्राप्त गरेसँगै विद्यालय प्रशासनले ६ महिने कर्मकाण्ड प्रशिक्षण कार्यक्रमका लागि भर्ना प्रक्रिया समेत सुरु गरिसकेको छ।

​​गुरुकुल विद्यापीठ प्रशासनका अनुसार, कर्मकाण्ड प्रशिक्षणमा रुचि राख्ने इच्छुक विद्यार्थी तथा प्रशिक्षार्थीहरूले अब श्री राम लखन हरि साह गुरुकुल विद्यापीठमा सम्पर्क गरी भर्ना हुन सक्नेछन्। यस प्रशिक्षणले धार्मिक विधि-विधान, पूजा-अर्चना र सामाजिक संस्कारहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सक्ने योग्य पण्डित तथा पुरोहितहरू तयार पार्ने लक्ष्य लिएको हो ।

​​गौर नगरपालिकामा यस प्रकारको शैक्षिक तथा धार्मिक संस्थाको स्थापना र सञ्चालनमा नगर प्रमुख शम्भु साहले देखाएको क्रियाशीलताको स्थानीयवासी, शिक्षाप्रेमी, तथा धार्मिक अगुवाहरूले खुलेर प्रशंसा गरेका छन्। उनीहरूले नगर प्रमुख साहको यो योगदानलाई सराहनीय र अनुकरणीय भन्दै गुरुकुल विद्यापीठले यस क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।