रौतहट, २८ कात्तिक । जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत भोवाली चौक नजिक शुक्रबार दिउँसो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए।
बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वा र मौलापुर नगरपालिकाको पथरा जोड्ने कालोपत्रे सडक खण्डमा पर्ने भोवाली चौकको बीचमा सो दुर्घटना भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना हुनुको मुख्य कारण सडकको दुवै किनारामा लगाइएको रहर दलहन बालीको बिरुवा रहेको छ । बिरुवा अग्लो भएकाले विपरीत दिशाबाट आइरहेका सवारीसाधनका चालकहरूले एक-आपसमा देख्न नसक्दा ठोक्किएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विष्णु प्रदीप बस्यालले दिएको जानकारी अनुसार
बीआर ०५ पी ५५४५ नम्बरको मोटरसाइकल चालक: रौतहट जिल्ला, बौधिमाई नगरपालिका वडा नं. २ बस्ने अर्जुन पण्डित कुम्हारका अन्दाजी १८ वर्षीय छोरा धिरज पण्डित उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
बीआर ०५ पी ५५४५ नम्बरको मोटरसाइकलमा सवार: सोही मोटरसाइकलमा पछाडि बसेकी अन्दाजी ७/८ वर्षकी बालिका चन्चल कुमारी। उनकी निधारमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाए ।
बीआर ०५ ए जे ५४१९ नम्बरको मोटरसाइकल चालक: बारा जिल्ला पचरौता नगरपालिका वडा-७ बेनौली टोल बस्ने राजू पटेलका अन्दाजी १९ वर्षीय छोरा नीरज पटेलको टाउकोमा चोट लागेको र गम्भीर घाइते अवस्थामा रहेका छन् ।
गम्भीर घाइते भएका दुवै चालक धिरज पण्डित र नीरज पटेललाई इलाका प्रहरी कार्यालय कोपवा पिपरियाका प्रहरी नायब निरीक्षक महानन्द यादवले तत्काल उपचारका लागि वीरगञ्ज पठाएका हुन् । बालिका चन्चल कुमारीको अवस्था भने सामान्य रहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल बीआर ०५ ए जे ५४१९ र बीआर ०५ पी ५५४५ लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । ग्रामीण सडकहरूमा यसरी बालीनाली वा अन्य अवरोधका कारण सवारीसाधन देख्न नसकेर दुर्घटना हुने समस्या बढ्दै गएको देखिन्छ ।