सोमबार २९ मंसिर, २०८२

नेपाली समय

गौर भन्सार अगाडि सुरक्षाकर्मीकै 'सेटिङ' मा व्यापक तस्करी: सर्वसाधारणलाई सास्ती, तस्करलाई छुट

गौर भन्सार अगाडि सुरक्षाकर्मीकै 'सेटिङ' मा व्यापक तस्करी: सर्वसाधारणलाई सास्ती, तस्करलाई छुट

रौतहट, २१ कात्तिक । ​जिल्लाको गौर भन्सार अगाडि तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीका एक उच्च अधिकृतकै सेटिङमा व्यापक तस्करी भइरहेको र यसले गर्दा सर्वसाधारण नागरिकले भने दुःख पाइरहेको गम्भीर तथ्य प्रकाशमा आएको छ।

​जिल्लाको प्रमुख भन्सार नाकाको सुरक्षा जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरीका सप्रनाउ गांन्दीप राज स्याङ्तांगको मिलेमतोमा तस्करीले तीव्र गति लिएको स्थानीयहरूले बताएका छन्। उनको आगमनपछि तस्करहरूले निर्बाध रूपमा सामान ओसारपसार गरिरहेको र यसबापत लाखौँ रुपैयाँको मासिक असुली हुने गरेको स्थानीय स्रोतले दाबी गरेको छ।

​​स्थानीयका अनुसार सप्रनाउ स्याङ्तांग यस क्षेत्रमा आएदेखि नै अवैध मालसामानको ओसारपसारमा असाधारण वृद्धि भएको छ। खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले दैनिक उपभोग्य वस्तुदेखि महँगा सामग्रीसम्म भन्सार छलेर नेपाल भित्र्याइरहेका छन्। ​लाखौँ मूल्य बराबरका सामानहरू आँखा अगाडि बाटै तस्करी भइरहेको। ​तस्करहरूलाई विशेष छुट दिइएको र उनीहरूको गतिविधिमा सशस्त्र प्रहरी मौन रहेको हो ।

​यसवापत तस्कर समूहबाट उच्च प्रहरी अधिकारीको ‘सेटिङ’ मा मोटो रकम असुली हुने गरेको स्थानीयको आरोप छ।

​​एकतर्फ उच्च प्रहरी अधिकारीको संरक्षणमा ठूला तस्करहरूले सहजै आफ्नो धन्दा चलाइरहेका छन् भने अर्कोतर्फ दैनिक उपभोगका लागि थोरै मात्रामा घरायसी सामान ल्याउने सर्वसाधारण नागरिकले भने भन्सारमा अनावश्यक दुःख र सास्ती खेप्नुपरेको छ।

​स्थानीय एक बासिन्दाले भने, "ठूला तस्करहरूले खुलेआम सामान पास गर्छन्, उनीहरूलाई कसैले रोक्दैन। तर, हामीले घर खर्चका लागि थोरै सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिन्छन् र झन्झट सिर्जना गर्छन्।"

​यस किसिमको दोहोरो मापदण्डले सुरक्षा निकायप्रति आम नागरिकको विश्वास र भरोसा गुम्दै गएको छ। भन्सार नाकामा खटिएका सुरक्षाकर्मीको मुख्य जिम्मेवारी तस्करी नियन्त्रण गरी राजस्व चुहावट रोक्नु हो, तर उनीहरूकै संलग्नतामा तस्करी मौलाउँदा राज्यलाई करोडौंको राजस्व घाटा भएको छ।

​​यस विषयमा स्थानीय सञ्चारकर्मी र नागरिक समाजले गम्भीर चासो व्यक्त गर्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्। सुरक्षा निकायले यस्ता संवेदनशील विषयमा तत्काल ध्यान दिई दोषी उपर कडा कारबाही गर्नुपर्ने र भन्सार नाकामा हुने अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने उनीहरूको भनाइ छ।

​यस सम्बन्धमा सशस्त्र प्रहरी बलको माथिल्लो निकायले तत्काल छानबिन टोली गठन गरी सत्यतथ्य पत्ता लगाई तस्करीको यो जालो तोड्न पहल गर्नुपर्ने देखिन्छ। यसरी भन्सारमा हुने गैरकानुनी गतिविधिले देशको अर्थतन्त्रमा मात्र नभई सुरक्षा प्रणालीमा समेत गम्भीर प्रश्नचिह्न खडा गरेको छ।