सोमबार २९ मंसिर, २०८२

नेपाली समय

करार र ज्यालादारी कर्मचारीहरूद्वारा टायर बालेर प्रदर्शन

करार र ज्यालादारी कर्मचारीहरूद्वारा टायर बालेर प्रदर्शन

रौतहट, २० कात्तिक । जिल्लाको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै नौ दिनदेखि आन्दोलन जारी राखेका छन् । असन्तुष्ट कर्मचारीहरूले बिहीबार टायर बालेर प्रदर्शन गरेका छन् र “पीडित कर्मचारीलाई दुःख दिन पाइँदैन, असक्षम मेयर राजिनामा देउ, करार कर्मचारीलाई हेप्न पाइँदैन” जस्ता नारा लगाएका थिए ।

कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू साथै नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिइरहेका छन् । लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका महत्त्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।

कर्मचारीहरूले लामो समयदेखि काम गरे पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् । नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेको छ ।

नगर प्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले आफू विदामा रहेको बताउँदै भने, “मेयर साहेबलाई अर्को व्यवस्था गर्न भनिसकेको छु।”

स्थानीयहरूले भने कर्मचारीको आन्दोलन र नगरपालिकाको निष्क्रियताले जनजीवन प्रभावित भएको भन्दै छिटो समाधानको माग गरेका छन् ।