मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा फेक अडियोको दाबी; कानूनी कारबाहीको चेतावनी

माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा फेक अडियोको दाबी; कानूनी कारबाहीको चेतावनी

रौतहट, १८ कात्तिक । जिल्लाको माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत (का.मु. सी.ए.ओ.) नागेन्द्र यादवले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो पूर्ण रूपमा नक्कली फेक भएको दाबी गरेका छन् । नगरपालिकाको बदनाम गर्ने नियोजित उद्देश्यले भ्रम सिर्जना गर्न यो अडियो सार्वजनिक गरिएको भन्दै उनले यस्तो गैरकानूनी कार्यप्रति कडा आपत्ति व्यक्त गरेका हुन् ।

​प्रमुख प्रशासकीय अधिकृत यादवले एक विज्ञप्ति जारी गर्दै उक्त अडियोको सत्यतामाथि गम्भीर प्रश्न उठाएका हुन् । उनका अनुसार अडियोमा सुनिएको आवाज नगरपालिकाका कुनै पनि निर्वाचित जनप्रतिनिधि वा कार्यरत कर्मचारीको नभएको स्पष्ट छ। कसैले व्यक्तिगत स्वार्थ वा पूर्वाग्रह राखेर नगरपालिकाको गरिमामाथि आँच पुर्‍याउने दुराशयले आवाजको नक्कल गरी यो झुटो अडियो बनाएको हुनसक्ने उनको भनाई छ।

​नगरपालिकाको छवि धुमिल पार्ने र जनमानसमा भ्रम फैलाउने उद्देश्यले नियोजित रूपमा नक्कली आवाज सार्वजनिक गरिएको छ, अधिकृत यादवले भने, यस प्रकारको कार्य कानूनी अपराध हो र यसको विरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन हामी तयार छौँ।

​यादवले भ्रम सिर्जना गरी सामाजिक सद्भाव खल्बल्याउन खोज्ने र नगरपालिकालाई बदनाम गर्न खोज्ने जो कोहीलाई पनि साइबर कानून र प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउने चेतावनी दिए। उनले नगरवासी सम्पूर्ण सरोकारवाला निकाय र सञ्चारकर्मीहरूलाई पनि यस प्रकारका भ्रामक सूचना तथा अडियोबाट विचलित नहुन र सत्यतथ्य बुझ्न आग्रह गरे।

​अडियो सार्वजनिक भएपछि नगरपालिकाको प्रशासन र जनप्रतिनिधिहरूबीचको सम्बन्ध तथा कार्यशैलीलाई लिएर जनमानसमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै अधिकृत यादवले यस्तो दुष्प्रचारले नगरपालिकाको नियमित कार्यप्रवाहमा कुनै असर नपर्ने स्पष्ट पारे। उनले यसबारे थप छानबिन गरी दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी गराए ।