मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

बमनहर चौकमा सुहानी मिठाई पसलमा भीषण आगलागी, लाखौंको क्षति

बमनहर चौकमा सुहानी मिठाई पसलमा भीषण आगलागी, लाखौंको क्षति

रौतहट, १७ कात्तिक । जिल्लाको बमनहर चौकमा अवस्थित सुहानी मिठाई पसलमा गत राति आइतबार आगलागी भएको छ। विजय साहले सञ्चालन गरेको उक्त पसलमा भएको आगलागीबाट पसलभित्र रहेका सामान, नगद र गरगहना गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।​स्थानीय प्रत्यक्षदर्शीका अनुसार आइतबार राति करिब ९:३० बजेको समयमा पसल बन्द रहेको अवस्थामा एक्कासी धुवाँको मुस्लो निस्केको थियो। स्थानीयबासीले धुवाँ देखेपछि तत्काल आगो नियन्त्रणको प्रयासमा जुटेका थिए।

​ घटनालाई लिएर स्थानीयबासीमा गम्भीर शङ्का उत्पन्न भएको हो । उनीहरूका अनुसार अज्ञात व्यक्तिहरूले पेट्रोल छर्केर जानाजानी आगो लगाएको हुन सक्ने आशंका गरिएको हो। पसल पूर्ण रूपमा बन्द रहेको अवस्थामा यसरी भीषण आगलागी हुनुले शङ्कालाई बल पुर्‍याएको स्थानीयहरू बताउँछन्।

​​पसलका सञ्चालक विजय साहका अनुसार आगलागीबाट पसलमा रहेका मिठाई, तयारी खाद्य सामग्री लगायतका सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सबैभन्दा ठूलो क्षति भने पसलको नगद र गरगहनामा भएको हो ।

​"पसलमा बिक्रीबाट जम्मा गरिएको नगद पैसा र केही स-साना गरगहना समेत आगोमा परेर खरानी भएका छन्," साहले भावुक हुँदै बताए। उनको भनाइ अनुसार आगलागीले गर्दा उनलाई करिब ३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको हो ।

​आगलागीको जानकारी पाउने बित्तिकै स्थानीयबासीहरू ठूलो संख्यामा भेला भएर आगो नियन्त्रणको प्रयासमा लागेका थिए। उनीहरूको प्रयासबाट आगो थप फैलिनबाट जोगिए पनि पसलभित्रको क्षति भने रोक्न सकिएन।

​घटनास्थलमा इलाका प्रहरी कार्यालय राजपुर तथा बमनहर प्रहरी टोली पनि तत्काल पुगेका थिए। प्रहरी र स्थानीयको संयुक्त प्रयासबाट ढिलो गरी आगो नियन्त्रणमा आएको थियो।

​अस्थायी प्रहरी पोष्ट बमनहरका प्रहरी अधिकारीहरूले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। आगलागीको कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट छानबिन गरिरहेको बताए।