रौतहट, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटमा सफलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएका प्रहरी नायव उपरीक्षक राजु कार्कीको बिदाइ गरिएको छ। उहाँ काज सरुवा भई जिल्ला प्रहरी कार्यालय पर्सा जान लाग्नुभएको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटले एक 'बिदाइ तथा फेरी भेटौंला' कार्यक्रमको आयोजना गरेको थियो।
डिएसपी कार्कीलाई कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीले फूलमाला लगाई मायाको चिनो प्रदान गर्दै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै एसपी कार्कीले डिएसपी राजु कार्कीले रौतहटमा रहँदा प्रहरी संगठनको कार्यसम्पादन र शान्ति सुरक्षा कायम गर्न पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँको आगामी कार्यक्षेत्र पर्सामा समेत उत्तिकै सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।
बिदाइ कार्यक्रममा डिएसपी कार्कीले रौतहटमा कार्यरत रहँदा सबै सहकर्मीबाट पाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा भएका सकारात्मक कामको श्रेय सम्पूर्ण प्रहरी टोलीलाई दिनुभयो र आगामी दिनमा पनि आपसी समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले डिएसपी कार्कीको कार्यशैली, व्यावसायिकता र सहयोगी भावनाको प्रशंसा गर्दै उहाँको भावी कार्यकालको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको समापन 'फेरी भेटौंला' भन्ने नाराका साथ गरिएको थियो, जसले प्रहरी सङ्गठनभित्रको भावनात्मक सम्बन्ध र सहकर्मीप्रतिको सम्मानलाई दर्शाउँछ। डिएसपी कार्कीको पर्सा सरुवा भएसँगै रौतहट प्रहरीले एक अनुभवी र कुशल अधिकारीलाई गुमाएको महसुस गरेको हो ।