रौतहट, १७ कात्तिक । छठ पर्व र लगातारको वर्षापछिको लामो बिदा सकिएर आइतबारदेखि खुलेको जिल्ला प्रशासन कार्यालय रौतहटमा राहदानी (पासपोर्ट) बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। कार्यालय खुलेको पहिलो दिनदेखि नै पासपोर्ट सेवा लिन आउनेहरूको लामो लाइन देखिएको छ, जसका कारण सेवाग्राहीले आवेदन दर्ता र बायोमेट्रिक प्रक्रियाका लागि घण्टौँ कुर्नु परेको हो ।
विदेशमा रोजगारी वा अध्ययनका लागि जान चाहने युवाहरूको बाक्लो उपस्थिति लाइनमा देखिएको हो । स्थानीय प्रविण कुमार सिंहले बिहान १० बजे लाइनमा बसेको र लामो प्रतीक्षापछि मात्र आफ्नो पालो आएको बताए। "एकछिन लाइन छोड्दा पालो मिचिन्छ कि भन्ने डरले कतै नगई पालो पर्खिएँ," उनले आफ्नो अनुभव सुनाए।
त्यस्तै, यमुनामाई गाउँपालिका –५ का बिरेन्द रामले पनि राहदानीका लागि झण्डै साढे पाँच घण्टा लाइनमा बसेर पालो पाएको जानकारी दिए। लामो समय लाइनमा बस्दा पनि काम समयमै सकिए हुन्थ्यो भन्ने उनको चिन्ता थियो।
भीड बढ्नुको कारणबारे जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहले लामो बिदा र छठ पर्वका कारण केही दिन काम रोकिएकोले सेवाग्राहीको चाप एकाएक बढेको स्पष्ट पारे। उनका अनुसार हाल दैनिक ५० देखि ६० वटा नयाँ पासपोर्ट बनिरहेका छन्। उनले थपे, "फर्म भर्नेदेखि बायोमेट्रिकसम्म कर्मचारीले नै गर्नुपर्ने भएकाले प्रक्रियामा केही ढिलाइ भइरहेको छ।"
नायब सुब्बा साहले यो हप्ता भीड बढी रहने अनुमान गरे पनि अर्को हप्तादेखि सेवा नियमित हुँदै गएपछि भीड क्रमशः घट्दै जाने विश्वास व्यक्त गरे।
जिल्लामा पछिल्ला वर्षहरूमा विदेश रोजगार र पढाइका लागि जाने युवाहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। यसै कारण राहदानी सेवा लिन आउने सेवाग्राहीको भीड पनि निरन्तर बढ्दो क्रममा छ। जिल्ला प्रशासन कार्यालयले यस बढ्दो चापलाई व्यवस्थित गर्न थप कर्मचारी परिचालन वा सेवा प्रवाहको प्रक्रियालाई सरल बनाउनेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ।