मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीको पुनः आन्दोलन: सेवा ठप्प, माग पूरा नभएसम्म बन्द रहने चेतावनी

कटहरिया नगरपालिकामा करार र ज्यालादारी कर्मचारीको पुनः आन्दोलन: सेवा ठप्प, माग पूरा नभएसम्म बन्द रहने चेतावनी

रौतहट, १२ कात्तिक । ​रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आफ्ना तलबभत्ताको बक्यौता भुक्तानी नभएको भन्दै फेरि आन्दोलन सुरु गरेका छन् । कर्मचारीहरूले बुधबार नगरपालिकाका सम्पूर्ण वडा कार्यालय र मूल कार्यालयमा तालाबन्दी गरेर सेवा पूर्णरूपमा ठप्प पारेका छन् ।

​तलब बक्यौताको समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन् । वडा नम्बर १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ, जसले गर्दा नगरपालिकाबाट हुने सबै सेवाहरू अवरुद्ध भएका छन् । यसबाट दैनिक काम लिएर आउने सेवाग्राहीहरू मर्कामा परेका छन्।

​​आन्दोलित कर्मचारीहरूका अनुसार यसअघि पनि तलब भुक्तानीको विषयमा विवाद हुँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोज महिनामा लिखित आश्वासन दिएका थिए । उक्त आश्वासनमा दिपावली र छठ पर्वअगावै सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर, चाडपर्व सकिसक्दा पनि उक्त रकम भुक्तानी नभएपछि कर्मचारीहरू निराश हुँदै आन्दोलनको बाटो रोज्न बाध्य भएका हुन् ।

​कर्मचारीहरूले नगरपालिका नेतृत्वलाई लिखित प्रतिबद्धता कार्यान्वयन नगरेको र विश्वासघात गरेको आरोप लगाएका छन् ।

​​तलब भुक्तानीको माग गर्दै आन्दोलनरत कर्मचारीहरूको २०८२ कार्तिक १२ गते बसेको बैठकले शान्तिपूर्ण रूपमा नगरपालिकामा तालाबन्दी गर्ने र "धर्ना कार्यक्रम" सुरु गर्ने निर्णय गरेको थियो । आन्दोलनलाई थप व्यवस्थित बनाउन उनीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै वडा कार्यालयहरूमा औपचारिक रूपमा ज्ञापनपत्र पनि पठाएका छन् ।

​​लामो समयदेखि नगरपालिकाको सेवामा समर्पित हुँदा पनि समयमा तलबभत्ता नपाउँदा दैनिक जीवनयापनमा गम्भीर समस्या आएको कर्मचारीहरूले बताएका छन् ।

​कर्मचारीहरूको भनाइमा, “हामीले लामो समयदेखि नगर सेवामा समर्पित छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ । हामीले घरभाडा तिर्न सकेका छैनौँ, बालबच्चाको विद्यालय शुल्क तिर्न पाएका छैनौँ । जबसम्म हाम्रो बक्यौता सम्पूर्ण रकम भुक्तानी हुँदैन, तबसम्म हामी यो आन्दोलन र तालाबन्दी जारी राख्नेछौं।”