मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

ब्राउन सुगर सहित रौतहटको कटानीबाट चार जना पक्राउ

ब्राउन सुगर सहित रौतहटको कटानीबाट चार जना पक्राउ

रौतहट, २६ असोज । प्रहरीले लागूऔषध ब्राउन सुगर सहित गुजरा नगरपालिकाको कटानीबाट दुई छुट्टाछुट्टै कारबाहीमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं र सिन्धुलीका दुई युवकका साथै कटानीका दुई स्थानीय बासिन्दा छन्।

​पहिलो पक्राउ: काठमाडौं र सिन्धुलीका युवक

​विशेष सूचनाका आधारमा प्रहरीले शनिवार राति करिब ९:३० बजे गुजरा नगरपालिका २ कटानी टोलबाट दुई जना युवकलाई नियन्त्रणमा लिएको हो।

​पक्राउ पर्नेहरूमा काठमाडौं मनपा १२ बौद्धका २० वर्षीय कोमन गुरुङ र सिन्धुली मरिण गापा ५ का २१ वर्षीय मनिष घलान रहेका छन्।

​रौतहट प्रहरीले जनाएअनुसार, उनीहरूको शरीर खानतलासी गर्दा मनिष घलानले लगाएको पाइन्टको गोजीमा 'आईस चुरोट'को बट्टाभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा ९.३०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै युवकलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको हो ।

​दोस्रो पक्राउ: कटानीका दुई स्थानीय

​यसैगरी, आइतबार बिहान पनि इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई प्राप्त विशेष सूचनाको आधारमा गुजरा नपा २ कटानी टोलमा थप छापा मारिएको थियो।

​प्रहरी नायव निरीक्षक रमाशंकर यादवको कमाण्डमा खटिएको टोलीले लागूऔषध बेचबिखन गर्ने गरेको आरोपमा सोही स्थानका सञ्जु भन्ने ज्ञानबहादुर थिङ र २० वर्षीय आजत अन्सारीलाई पक्राउ गरेको हो । आजत अन्सारी सर्पदिन महमदका छोरा हुन्।

​उनीहरूको घरमा खानतलासी गर्दा ज्ञानबहादुर थिङ सुत्ने ओछ्यानको डसना मुनी लुकाएर राखेको अवस्थामा साना २० वटा पुरिया बनाइएको १.८६० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।

​यसका अतिरिक्त, प्रहरीले निट्राजेपाम लेखिएको १३ थान ट्याब्लेट लागुऔषध तथा ६५ हजार एक सय नेपाली रुपैयाँ नगद पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए।

​कारबाही प्रक्रिया सुरु

​पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई 'लागूऔषध बिक्री वितरण एवं ओसारपसार कसुर' अन्तर्गत कारबाही प्रक्रिया सुरु गरिएको हो ।

​जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिँदै, लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरीले विशेष निगरानी र सक्रियता बढाएको बताए।

​ विशेषगरी भारतसँगको खुला सिमानाको कारण, लागूऔषधको ओसारपसार तथा बेचबिखनको दृष्टिले संवेदनशिल मानिन्छ। प्रहरीले पछिल्लो समय यस क्षेत्रमा कडाइ गरेको देखिन्छ।