मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

लक्ष्मीपुर बेलबिछवाका बाढी पीडितलाई रेडक्रसद्वारा राहत वितरण

लक्ष्मीपुर बेलबिछवाका बाढी पीडितलाई रेडक्रसद्वारा राहत वितरण

रौतहट, २१ असोज । लगातारको भारी वर्षाका कारण आएको बाढीले प्रभावित बनेका  राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर बेलबिछवास्थित दलित टोलका ७५ घरधुरीलाई मंगलबार नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ। बाढीका कारण घर डुबानमा परी विस्थापित बनेका र दैनिक गुजारामा समस्या परेका परिवारलाई लक्षित गरी यो राहत वितरण गरिएको हो।

​नेपाल रेडक्रस सोसाइटीका सभापति राजकिशोर यादवको सभापतित्वमा आयोजित राहत वितरण कार्यक्रममा बाढी पीडित परिवारलाई अत्यावश्यक सामग्रीको 'राहत प्याकेज' उपलब्ध गराइएको थियो। बाढीले घरभित्र पानी पस्दा खाद्यान्न, लत्ताकपडा र भाँडावर्तनमा क्षति पुगेपछि पीडितहरू थप समस्यामा परेका थिए। रेडक्रसले वितरण गरेको राहत सामग्रीले उनीहरूको तत्कालको आवश्यकतालाई केही हदसम्म भए पनि सम्बोधन गर्ने विश्वास लिइएको छ।

​राहत वितरण कार्यक्रममा रेडक्रस सोसाइटीका पदाधिकारी तथा स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा शाखाका मन्त्री धर्मेन्द्र सिंह, सह-कोषाध्यक्ष शेख कैमुदिन र स्वयंसेवक देवेन्द्र यादव लगायतको टोलीले प्रभावित परिवारलाई व्यवस्थित रूपमा राहत सामग्री हस्तान्तरण गरेका थिए।

​रेडक्रसका सभापति राजकिशोर यादवले प्राकृतिक विपद्को समयमा मानवीय सेवामा जुट्नु रेडक्रसको मुख्य दायित्व रहेको बताउँदै, बाढीले ठूलो क्षति पुर्‍याएकाले पीडितलाई तत्काल सहयोग गर्नुपरेको जानकारी दिए। साथै, उनले विपद्को यस घडीमा सबै सरोकारवाला निकायले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

​राहत सामग्री बुझ्दै स्थानीय बासिन्दाहरूले रेडक्रसले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। बाढी र डुबानले गर्दा भोकै बस्नुपर्ने अवस्थामा राहतले ठूलो सहयोग पुगेको उनीहरूको भनाई छ।

​रेडक्रस सोसाइटीले स्थानीय सरकार र अन्य साझेदार संस्थाहरूसँगको समन्वयमा जिल्लाभरका अन्य प्रभावित क्षेत्रहरूमा पनि राहत वितरण तथा उद्धार कार्य जारी राख्ने जनाएको हो ।