मंगलबार ०४ असार, २०८१

नेपाली समय

बन व्यवस्थित बनाउन  भोजपुरमा स्थलगत अभ्यास 

बन व्यवस्थित बनाउन  भोजपुरमा स्थलगत अभ्यास 

भोजपुर, १७ माघ । सामुदायिक वनलाई सकृय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्बर्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिक रुपम सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो ।

डिभिजन वन कार्यालय भोजपुरले यहाँका निष्क्रिय जस्तै बनेका सामुदायिक वनलाई सकृय बनाएर आयआर्जनमा जोड्न सामुदायिक वनमा स्थलगत अभ्यास कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका विभिन्न सामुदायिक वनलाई लक्षित गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेश वन विकास तथा व्यवस्थापन अन्तर्गत थालिएको कार्यक्रमले वनको संरक्षण, सम्बर्धन र सदुपयोगलाई ध्यानमा राख्दै स्थलगत अभ्यास गराएर उनीहरूलाई आवश्यक तालिम दिइएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

प्रमुख घिमिरेले भने,‘ सामुदायिक वनलाई व्यवस्थित र आयमूलक बनाउनका लागि कामको थालनी गरेका छौँ । यसले स्वास्थ्य वनमा निर्माणमा टेवा पुग्छ भने उपभोक्तालाई पनि वन पैदावारको सदुपयोगमा सहयोग पुग्छ ।’

कार्यालयले टेम्केमैयुङ गाउँपालिकाका ७ मा रहेका अमले, बतासे सल्लेरी, फेदी, आल चोउर र डढुवा सामुदायिक वनका उपभोक्तालाई व्यवस्थित वन बनाउने बारेमा स्थलगत अभ्यास गराएको छ । त्यस्तै भोजपुर नगरपालिका ३ शिद्धेश्वरमा  रहेका ६ ओटा सामुदायिक वनका उपभोक्ताहरूलाई पनि अभ्यास गराएको छ । सामुदायिक बनहरूले कार्यक्रम उपयोगी रहेकोले यसले वन क्षेत्रको विकास तथा संरक्षणमा टेवा पुग्ने शिद्धपातल सामुदायिक वन  अध्यक्ष चित्र बहादुर खड्काले बताए । साथै कार्यक्रमले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

जिल्लामा रहेका ६ ओटा सब डिभिजन वन कार्यालयले विभिन्न सामुदायिक वनलाई लक्षित गरेर  कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यसबाट वन क्षेत्रको विकास तथा वन क्षेत्रमा देखा परेका विभिन्न समस्या समाधानमा सहयोग पुग्ने  सहायक वन अधिकृत खुद्रस मियाले जानकारी दिए । मियाले भने,‘ अहिलेसम्ममा उपभोक्ताहरूले वनको संरक्षण गरिरहेका छन् । तर वनको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरुको आयस्तर कमजोर छ । उनीहरूलाई सकृय गराएर वनबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै स्थलगत अभ्यास गराएका छौँ ।

सामुदायिक वनहरूलाई  सकृय बनाएर आयमूलक काममा जोड्नको लागि वन कार्यालयले थालेको काम राम्रो रहेको स्थानीय तहहरूले बताएका छन् । वन क्षेत्रको विकास तथा संरक्षणको लागि स्थानीय तहहरूले पनि सहकार्य गरेर अघि बढ्ने टेम्केमैयुङ ७ कोट  वडाध्यक्ष उद्धव कुमार राईले बताए । कार्यालयले सामुदायिक वनलाई सकृय बनाउन उनीहरूका विधान तथा कार्ययोजना नवीकरणको लागिसमेत काम गरिरहेको जनाएको छ । यहाँ ५ सय बढी सामुदायिक वन रहेपनि अधिकांश निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।