रौतहट, ११ असोज । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार सञ्चालन भइरहेको घटनाप्रति स्थानीयवासीले गम्भीर आक्रोश व्यक्त गरेका छन्। यस प्रकारको गैरकानुनी कार्यले सामाजिक परिवेश बिग्रँदै गएको र युवापुस्तामा नकारात्मक असर परिरहेको भन्दै स्थानीयले प्रहरी प्रशासन तथा जनप्रतिनिधिहरूको भूमिकाप्रति प्रश्न उठाएका छन्।
प्रहरी प्रशासनमाथि ‘सङ्गठित मिलेमतो’को आरोप
स्थानीयवासीका अनुसार करिब १०-१५ दिनअघि नै देहव्यापार नियन्त्रणका लागि सामूहिक रूपमा प्रमाणसहित प्रहरीसमक्ष उजुरी दिइएको थियो। तर, लामो समय बितिसक्दा पनि कुनै ठोस कारबाही अघि नबढेको भन्दै उनीहरू प्रहरी प्रशासन र जनप्रतिनिधिप्रति निराश बनेका छन्। एक स्थानीयले भने, "हामीले प्रमाणसहित उजुरी दिएका थियौँ, तर प्रहरीबाट कुनै पहल नभएको देख्दा निराश भएका छौँ।"
स्थानीयको यो निराशा अहिले प्रहरी प्रशासनको ढिलासुस्तीलाई 'सङ्गठित मिलेमतो'को सङ्केतका रूपमा व्याख्या गर्न पुगेको छ। केही युवाले यो विषयलाई सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन्, जसले गर्दा घटनाले थप चर्चा पाएको छ।
घर भाडामा लिएर देहव्यापार
द युनिटी अफ टेकान क्लबका अध्यक्ष सोम गुरुङ का अनुसार सन्तपुरकी एक महिलाले टेकान बसपार्क छेउमा कोठा भाडामा लिएर झन्डै एक दर्जनभन्दा बढी किशोरीलाई राखी लामो समयदेखि देहव्यापार गराउँदै आएकी छिन्। अध्यक्ष गुरुङले घटनाको प्रकृतिबारे जानकारी दिँदै भने, "पहिले ती किशोरीलाई होटल-रेस्टुरेन्टमा पठाइन्थ्यो, तर पछिल्लो समय उनले आफ्नै कोठामा पुरुष ग्राहक बोलाएर व्यवसाय गर्दै आएकी छिन्।"
यसप्रकारको विकृतिले सिङ्गो समाजमाथि गम्भीर असर पारिरहेको उनको भनाई छ। उनले यस विषयमा आँट गरेर भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेको र भिडियो हटाउन दबाब आए पनि नहटाएको जानकारी दिएका छन्।
प्रहरीको प्रतिबद्धता: छिट्टै कानुनी कारबाही गरिने
यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले यस्ता गैरकानुनी गतिविधि रोक्न प्रहरी सक्रिय रहेको दाबी गरेका छन्। उनले उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन र निगरानी भइरहेको बताउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। डीएसपी कार्कीले भने, "उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन र निगरानी भइरहेको छ। छिट्टै कानुनी कारबाही अघि बढाइनेछ।"
यद्यपि, स्थानीयवासीहरू भने प्रहरीको यो आश्वासनप्रति तत्काल विश्वस्त हुन सकेका छैनन्। उनीहरूको भनाइ छ कि संवेदनशील क्षेत्र मा रहेको बसपार्क अगाडि नै यस्ता गैरकानुनी गतिविधि चल्नु प्रशासनिक कमजोरीको स्पष्ट उदाहरण हो। समाजमा खुला रूपमा भइरहेको यो विकृतिले स्थानीयको दैनिक जीवनमा समेत नकारात्मक प्रभाव पारेको हो ।
सामाजिक विकृति र कानुन कार्यान्वयनमा देखिएको ढिलासुस्तीका कारण चन्द्रनिगाहपुरको सामाजिक वातावरण थप तनावग्रस्त बनेको छ, र अब प्रहरी प्रशासनले कहिले ठोस कदम चाल्छ भन्ने प्रतीक्षामा स्थानीयवासीहरु छन्।