मंगलबार ३० भदौ, २०८३

नेपाली समय

गौर भन्सारमा तनाव, भारतीय टेम्पोलाई रोक लगाएपछि विरोध प्रदर्शन

गौर भन्सारमा तनाव, भारतीय टेम्पोलाई रोक लगाएपछि विरोध प्रदर्शन

रौतहट, ३०  भदौ । नेपाल-भारत सीमामा रहेको गौर भन्सार क्षेत्र सोमबार साँझ तनावग्रस्त बनेको छ। भारतीय टेम्पो चालकहरूलाई नेपाल प्रवेशमा रोक लगाएपछि नेपाली डाँफे (अटो रिक्सा) र टेम्पो चालकहरूबिच झडप र प्रदर्शन भएको हो।

​नेपालबाट भारतीय भूभागमा डाँफे तथा टेम्पु सञ्चालनमा भारतीय प्रहरीले रोक लगाएपछि त्यसको प्रतिउत्तरमा नेपाली चालकहरूले पनि भारतीय टेम्पोहरूलाई नेपालतर्फ प्रवेश गर्न नदिँदा स्थिति बिग्रिएको हो।सदरमुकाम गौरको क्रान्तिद्वार नजिकै भएको यस घटनाले लामो समयसम्म सडक अवरुद्ध भएको थियो।

​स्थानीय प्रशासनका अनुसार, विगत केही दिनदेखि भारतीय बजार बैरगनियासम्म नेपाली नम्बरका अटो रिक्सा र डाँफे जानमा भारतीय प्रहरीले रोक लगाउँदै आएका छन्। यसको विरोधमा नेपाली चालकहरूले पनि भारतीय सवारी साधनलाई सीमामा नै रोकेर दबाब सिर्जना गर्ने प्रयास गरेका थिए।

​घटनास्थलमा पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दुवै पक्षलाई सम्झाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। यद्यपि, दुवै पक्षका चालकहरूले आफ्नो माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने अडान लिएका थिए। यस घटनाले सीमा क्षेत्रमा आवागमनमा समस्या उत्पन्न भएको छ। स्थानीय सर्वसाधारणले प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

​यो समस्या समाधानका लागि दुवै देशका सुरक्षा अधिकारी र यातायात व्यवसायीहरूबिच छलफल आवश्यक रहेको स्थानीय प्रशासनले जनाए।