बुधबार ३० बैशाख, २०८३

नेपाली समय

जितिया पर्वको नहायखायमा नुहाउन गएकी बालिका मृत फेला

जितिया पर्वको नहायखायमा नुहाउन गएकी बालिका मृत फेला

रौतहट, १८ भदौ । सदरमुकाम गौरमा ​जितिया पर्वको नहायखायको दिन रौतहटमा एउटा हृदयविदारक घटना भएको छ। जिल्लाको सदरमुकाम गौरस्थित लाल बकैया नदीमा नुहाउन गएकी एक १० वर्षीय बालिकाको डुबेर मृत्यु भएको छ। नेपाली सेना र स्थानीयको सहयोगमा घण्टौँको खोजीपछि बालिकाको शव फेला परेको हो।

शनिबार बिहान करिब १० बजेको गौर नगरपालिका-६ का बैजु साहकी १० वर्षीय छोरी अमृता साह, जितिया पर्वको नहायखायको लागि आफ्नी आमासँगै नदीमा नुहाउन गएकी थिइन्। नुहाउने क्रममा अचानक उनी गहिरो पानीमा पुगेर डुबेकी थिइन्। ​आमाले हारगुहार गरेपछि तत्काल स्थानीयहरूले उद्धारको प्रयास गरे। तर, नदीको बहाव तीव्र भएको र पानी गहिरो भएकाले खोजीमा कठिनाइ भएको थियो। त्यसपछि नेपाली सेनालाई खबर गरियो र सेनाको गोताखोर टोलीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गर्‍यो। घण्टौँको निरन्तर खोजीपछि बल्ल बालिकाको शव फेला पारेको थियो।

​घटनापछि गौर र आसपासका क्षेत्रमा शोकको माहौल छाएको छ। जितिया पर्वको खुसीको दिनमा यस्तो दुःखद घटना हुँदा स्थानीयवासी स्तब्ध भएका छन्। अमृता साहको परिवारमा गहिरो शोक परेको छ। ​स्थानीय प्रशासनले यस घटनाप्रति दुःख व्यक्त गर्दै नदी र खोलामा नुहाउँदा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। विशेषगरी पर्वहरूमा धेरै मानिसहरू नदीमा नुहाउन जाने भएकाले यस्ता घटनाहरूबाट जोगिनका लागि सचेतना अपनाउनुपर्नेमा जोड दिइएको छ।

​मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए।