रौतहट, २६ भदौ । जिल्लाको ईशनाथ नगरपालिका वडा नं १ बनजरहास्थित लालबकैया नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। बिहीबार दिउँसो २ बजेको समयमा १७ वर्षीय बिगन कुमार साहको नदीमा डुबेको खबर प्राप्त भएको थियो । मृतक फौदी साहका छोरा हुन्।
परिवारले दिएको जानकारीअनुसार, बिहीबार दिउँसो नदीमा नुहाउने क्रममा पानीको बहाव र चाप अत्यधिक बढेकाले उनलाई बगाएको थियो। घटनालगत्तै स्थानीय र परिवारले उनको खोजी सुरु गरे पनि अहिलेसम्म शव फेला परेको छैन। यस घटनाबारे थप जानकारी लिँदा, मृतक किशोर नदीको किनारमा खेल्दै गर्दा अचानक डुबेको प्रारम्भिक अनुमान गरिएको छ। नदीमा पानीको सतह बढिरहेको र बहाव पनि तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको परिवारले जनाएका छन्।
यस दुखद घटनाले स्थानीय समुदायमा शोक छाएको छ। नदीमा बेपत्ता भएका किशोरको शवको खोजी कार्य जारी रहेको र यसका लागि स्थानीय प्रशासनसँग पनि समन्वय गरिएको पीडित परिवारले बताएका छन्। थप विवरण आउन बाँकी रहेको छ।