मंगलबार २६ साउन, २०८३

नेपाली समय

भोजपुरमा पनि डेंगी रोग बढ्दै, तीन महिनामा ४९ जना प्रभावित

भोजपुरमा पनि डेंगी रोग बढ्दै, तीन महिनामा ४९ जना प्रभावित

भोजपुर, १८ भदौ ।  पहाडी जिल्ला भोजपुरमा पनि डेंगी रोगीको संख्या बढ्दै जान थालेको छ । जिल्ला तीन महिनाको अवधीमा ४९ जनामा डेंगो सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालयले भोजपुर नगरपालिकाको समन्वयमा मंगलवार जिल्लामा गरेको डेंगी रोग नियन्त्रण सचेतना अभियानका क्रममा स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले भोजपुरमा पनि संक्रमितहरुको संख्या देखिएको जानकारी गराउनु भएको हो । उहाँका अनुसार गत वर्षमा पनि केहीमा सङ्क्रमण देखिएपनि अहिले पछिल्लो समयमा आएर संक्रमितको संख्या बढ्दै गएको छ । 

कार्यालयको तथ्याङ्क अनुसार असार र श्रावण महिनामा ४६ जना र भाद्र महिनामा तीन जनामा डेंगी सङ्क्रमण देखिन गएको छ । भोजपुरमा पनि सरोकारवालाहरुको समन्वयमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय प्रमुख बनमालीले जानकारी दिनुभयो । 

  पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कने गरेको छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरी रहेको छ । 

स्वास्थ्य कार्यालयमा रोगका विषयमा जानकारी गराइएको थियो भने सो पश्चात् बजार क्षेत्रमा सचेतना अभियान समेत सञ्चालन गरिएको थियो ।