सोमबार २५ जेठ, २०८३

नेपाली समय

भन्सार छलीका अवैध किराना सामानसहित पिकअप भ्यान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका अवैध किराना सामानसहित पिकअप भ्यान प्रहरीको नियन्त्रणमा

रौतहट, १७ भदौ । जिल्लाको मध्यभागमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले विशेष सूचनाका आधारमा लाखौँ मूल्य बराबरको अवैध किराना सामानसहितको पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

गत शनिबार राति करिब ९ बजेतिर गौर–चन्द्रनिगाहपुर सडक खण्ड हर्षहा चौक स्थित चेकजाँच क्रममा प्रदेश २–०३००१ च ५४४१ नम्बरको नेपाली पिकअप भ्यानलाई  तलासी गर्दा भन्सार छलिगरी ल्याइएका खाद्यान्न सामग्री बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

बरामद गरिएका सामग्रीमा चामल, दाल, तेल चिनी लगायतका खाद्यान्न सामग्री रहेका थिए । ती सामग्रीहरूको अनुमानित मूल्य करिब २ लाख ५० हजार ५ सय ५० रुपैयाँ बराबरको समान रहेको प्रहरीको प्रारम्भिक अनुमान गरिएको हो । प्रहरीका अनुसार उक्त सामान भन्सार छली गरेर तस्करीमार्फत ल्याइएको थियो । चेकजाँच क्रममा प्रहरीलाई देखेपछि भ्यान चालक गाडी छाडेर फरार भएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको सामान गौर नगरपालिका निवासी गुड्डु महतोको भएको खुलेको हो । तर चालक र भ्यानका वास्तविक मालिक भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाए ।

बरामद गरिएको पिकअप भ्यान र खाद्यान्न सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको थियो । प्रहरीका अनुसार यस किसिमका भन्सार छली गरी ल्याइने सामानले राज्यलाई ठूलो मात्रामा राजस्व नोक्सानी पुर्‍याइरहेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले सीमावर्ती नाकामा यसरी हुने अवैध गतिविधि रोकथाम गर्न थप कडाइ गरिएको जानकारी दिए । उनका अनुसार भारतसँगको खुला सिमानालाई लक्षित गर्दै प्रहरीको निगरानी र चेकजाँचलाई अझ कडाइ गर्ने तयारी भइरहेको हो । यसअघि पनि रौतहटका विभिन्न नाकाबाट अवैध रूपमा सामान भित्र्याउने काम भइरहेकाले प्रहरी सतर्क बनेको हो ।

प्रहरीले यसरी नियन्त्रणमा लिइएको भ्यान र सामान राज्यको राजस्व चोरी रोकथाम र सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गतको एक महत्त्वपूर्ण सफलता भएको जनाएको हो ।