शनिबार २६ बैशाख, २०८३

नेपाली समय

पूर्व विद्यार्थीबाट एक सयलाई पोशाक बितरण

पूर्व विद्यार्थीबाट एक सयलाई पोशाक बितरण

भोजपुर, १५ भदौ ।  भोजपुर नगरपालिका वडा नम्बर ४, मान्दे्रमा रहेको विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।  

विद्यालयका पूर्व विद्यार्थी दिनेश राउतले पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीहरुलाई ट्रयाक सुट बितरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक महेश भट्टराईले जानकारी दिनुभयो । विद्यालयको सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाईको अवसर पारेर राउतले पोशाक बितरण गर्नु भएको हो । 

पूर्व विद्यार्थीको सहयोगले विद्यार्थीहरुलाई पनि हौसला मिलेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “दाताहरुबाट हुने यस्ता सहयोगले विद्यालयसँगै अध्ययनरत बालबालिकाहरूलाई पनि प्रोत्साहन हुन्छ ।” स्थानीयवासी समेत रहनु भएका राउत हाल कामको सिलसिलामा जिल्ला बाहिर हुनुहुन्छ । 

सात कक्षासम्म आफु अध्ययन गरेको विद्यालयलाई केही सहयोग गरौँ भन्ने उद्देश्यले पोशाक बितरण गरेको राउतले बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ ।