रौतहट, १५ भदौ । रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा गत साउन २९ मा सशस्त्र प्रहरीले छापा मार्दा बरामद भएको सामानको परिमाण नमिलेको विषयमा घुमुवाहरुको बदमासी उजागर भएको छ ।
शिवनगरमा उपेन्द्र सहनीको घरमा ठूलो परिमाणमा अवैध चिनी लगायतका सामग्री भण्डारण गरिएको सूचना सशस्त्र प्रहरीका घुमुवाहरुले केन्द्रीय कार्यालयमा पुर्याएका थिए । सशस्त्रका घुमुवा रोशन मिश्रा, गगनदेव साह, रविकान्त मिश्रा र राजिव यादव सहितको टोलीले शिवनगरमा रहेको सो गोदाम भित्र पुगेर भिडियो बनाएका थियो । भिडियो पछि उनीहरु बौधिमाई नगरपालिकाको भोवाली चोकमा पुगेर व्यापारीसँग बार्गेनिङ्ग गरेका थिए ।
नाम नबताउने शर्तमा एक व्यपारीले भने “उनीहरुले गोदाममा भण्डारण भएको सामाग्रीको भिडियो बनाइसकेकोले अब रकम नदिए छापा मार्न लगाउने धम्की दिएका थिए ।” आफुहरु हेडक्वाटरबाट आएको टोली हो भन्दै उनीहरुले व्यापारीसँग ठूलै रकम लिएको श्रोतको दाबी रहेको हो । भोवाली चोककै एक होटेलमा उनीहरुले रकम लिएर खाजा समेत खाएका थिए ।
रविकान्त मिश्रा सहितले ३ वटा मोटरसाइकलमा व्यापारीसँग पेट्रोल पनि भर्न लगाएका थिए । पछि सो भिडियो हेडक्वार्टरमा पठाएका थिए । घुमुवाहरुले रकम बुझेपछि सो गोदामबाट सामान हटाउने अवसर समेत दिएका थिए । प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामा सहितको टोली गौरबाट हिंड्नु अघिनै ७० प्रतिशत भन्दा बढी सामान त्यहाँबाट गायब भइसकेको थियो ।
सशस्त्र प्रहरीका घुमुवाहरुले पुरै संगठनलाईनै दाग लगाउने काम गरेका छन । सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी र सशस्त्र प्रहरी बल हेडक्वार्टरको नाममा सई ज्ञानेन्द्र आलेमगर, सशस्त्र प्रहरी हवल्दार रोशन मिश्रा, राजीव यादव, रविकान्त मिश्रा र प्रहरी सहायक हवल्दार गगन देव साहले विभिन्न नाकाहरूमा सादा पोशाकमा खटी तस्करी गराए बापत लाखौँ रुपैयाँ असुल्दै आएका छन् ।