बुधबार ३० बैशाख, २०८३

नेपाली समय

भोजपुरको सिद्धकाली बोर्डिङमा संस्कृति झल्कने सामाग्री तथा विज्ञान प्रविधि प्रदर्शनी

भोजपुरको सिद्धकाली बोर्डिङमा संस्कृति झल्कने सामाग्री तथा विज्ञान प्रविधि प्रदर्शनी

भोजपुर, १३ भदौ । भोजपुरमा रहेको सिद्धकाली इङलिस बोर्डिङ स्कुलले परम्परागत संस्कृति झल्कने सामाग्री तथा विज्ञान प्रविधि प्रदर्शनी गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तयार गरेको सामाग्री तथा विज्ञानका सामाग्रीहरू शुक्रवार प्रदर्शन गरिएको हो । 

एकदिने सो कार्यक्रममा विद्यार्थीहरूले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरू प्रदर्शनीमा राखिएका थिए । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई पनि प्रोत्साहन दिने स्कुलका कार्यकारी निर्देशक शरण कुमार राईले बताउनुभयो । उहाँले विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरूसँगै लोप हुँदै गएको पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक सामाग्रीहरूको प्रदर्शनीले विद्यार्थीहरूमा विगतका मौलिक जनजीवन र त्यससँग सम्बन्धित ज्ञान प्राप्त भएको बताउनुभयो ।

प्रदर्शनीमा अपेक्षाभन्दा बढी सहभागी देखिएको स्कुलका प्रिन्सिपल दिपाङकर तामाङले बताउनुभयो । शिक्षक, अभिभावक, सञ्चालक समिति, पत्रकार र विद्यार्थीहरूले प्रदर्शनीमा अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । यसले आगामी वर्षहरूमा अझ नयाँ उपकरणहरूको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न अभिप्रेरित गर्ने तामाङको भनाई छ ।

सो प्रदर्शनीमा विद्यार्थीहरूले बनाएको रकेट, पेरिसकोप, ढुङ्गामा आर्ट, लगायतका विभिन्न उपकरणहरू राखिएको थियो भने पिरा, डोको, खुकुरी, दुना टपरी लगायतका परम्परागत सामाग्रीहरू पनि विद्यार्थीहरूले प्रदर्शनीमा राखेका थिए । विद्यार्थीहरूले बनाएको रकेट समेत उडाएर परीक्षण गरिएको थियो । प्रदर्शनीको साथमा विद्यार्थीहरूको नृत्य समेत प्रस्तुत गरेका थिए । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल करिब चार सय विद्यार्थीहरू अध्ययनरत छन ।