शनिबार ३० जेठ, २०८३

नेपाली समय

भोजपुर नगरपालिकामा शिक्षकहरूको दुई घण्टा धर्ना

भोजपुर नगरपालिकामा शिक्षकहरूको दुई घण्टा धर्ना

भोजपुर, १३ भदौ । जिल्लामा कार्यरत शिक्षकहरूले भोजपुर नगरपालिकामा शुक्रवार दुई घण्टा धर्ना दिएका छन । नेपाल शिक्षक महासङ्घ स्थानीय समितिको आह्वानमा भोजपुर नगरपालिकामा शिक्षकहरूले धर्ना दिएका हुन ।

शिक्षक महासङ्घको केन्द्रीय कार्यक्रम तथा महासङ्घले अघि सारेका मागहरू प्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहहरूमा धर्ना कार्यक्रम गरिएको हो । धर्ना पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईलाई शिक्षकहरूले आफ्ना माग सहितको ध्यानाकर्षण पत्र समेत बुझाएका छन । 

‘प्रस्तावित विद्यालय शिक्षा विधेयक’ मा समेट्नु पर्ने विषय सन्दर्भमा महासङ्घले बुँदागतरुपमा सुझाव प्रस्तुत गरिसकेको छ । सोही मागलाई ध्यानाकर्षण गराउन पालिकास्तरमा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ स्थानीय समितिका अध्यक्ष ज्ञानेन्द्र पाण्डेले बताउनुभयो । 

धर्नामा महासङ्घ नेतृत्वदेखि पेशागत संघ–सङ्गठनका प्रतिनिधि, शिक्षकहरूको सहभागिता रहेको थियो । आम शिक्षकका भावना समेट्ने गरी महासङ्घले अघि सारेका मागलाई सरकारले शीघ्र सम्बोधन गर्दे सबैको स्वामित्व र अपनत्व हुने खालको शिक्षा विधेयक आउनु पर्ने शिक्षकहरूको माग छ । 

भोजपुरमा भने दुई नगरपालिका सहित सात वटा गाउँपालिका रहेका छन ।