आइतबार २१ भदौ, २०८३

नेपाली समय

हरितालिका तीजको पौराणिक, विगत र वर्तमान

हरितालिका तीजको पौराणिक, विगत र वर्तमान
लेखक नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव हुनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट समाजशास्त्र विषयमा विद्यावारिधि अनुसन्धानरत हुनुहुन्छ ।

हरितालिका तीजको उत्पत्ति पौराणिक कथासँग गहिरो रूपमा जोडिएको छ। पुराणमा वर्णन भए अनुसार, हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउने दृढ सङ्कल्पका साथ कठोर तपस्या गरेकी थिइन्। तर उनका पिता हिमालयले उनको विवाह विष्णुसँग गराउने तयारी गरेका थिए। यसबाट व्यथित पार्वतीले आफ्नी सखीसँग छलफल गरी विवाहको दिनमै आफ्नो घरबाट अपहरण (हरि) शैलीमा वनतर्फ प्रस्थान गरिन । त्यहाँ उनले निराहार र निर्जल रही शिवप्राप्तिको कामनासहित कठोर उपवास (तालिका) गरिन्।

अन्ततः उनका तपस्याले प्रसन्न भई भगवान् शिव प्रकट भए र पार्वतीलाई जीवनसाथीका रूपमा स्वीकारे। यही घटनालाई "हरितालिका" भनियो, जसको शाब्दिक अर्थ हुन्छ, ‘सखीहरूले अपहरण गरी वनमा लगेको कथा’। यसरी सुरु भएको हरितालिका तीजलाई आजसम्म नेपाली नारीहरूले परमश्रद्धा र विश्वाससहित मनाउँदै आएका छन्। यस दिन महिलाहरूले हरितालिका ब्रत बस्दछन्, जसमा निराहार-निर्जल व्रत गरेर शिव-पार्वतीको पूजा आज गर्ने प्रचलन यद्यपि छदैछ ।

यसले वैवाहिक जीवनमा सौभाग्य, दाम्पत्य सुख र चिरस्थायी सम्बन्ध स्थापित हुने विश्वास पाइन्छ। विवाहित महिलाले पति सुख दीर्घायुका लागि र अविवाहित कन्याले सुयोग्य जीवनसाथी प्राप्तिको कामना सहित यो ब्रत बस्ने परम्परा रही आएको छ। यसरी हरितालिका तीज पौराणिक कथाबाट आरम्भ भई नारी धर्म, भक्ति र आस्था, बिश्वास र पबित्रताको पर्वका रूपमा स्थापित भएको छ। 

यो पर्व नेपाली समाजमा  ४०-५० वर्षअघि देखि उताको इतिहास हेर्दा ग्रामीण समाजमा हरितालिका तीज नारीहरूको जीवनसँग निकटतम रूपमा गाँसिएको पर्व थियो। त्यो समय तीजलाई आज जस्तो सजावट, प्रदर्शन वा बाह्य तडकभडक र भड्किलो उत्सव भन्दा बढी आत्मिक, सांस्कृतिक र सामुदायिक मिलनको अवसरका रूपमा लिइन्थ्यो। गाउँघरका आमा दिदीबहिनीहरू वर्षदिनको श्रम, घरेलु कामको थकान र पारिवारिक तथा सामाजिक बन्धनको पीडा बिर्सन तीजकै दिन सँगै भेला हुन्थे। खेतबारीको काम र गृहजिम्मेवारीले बाँधिएका उनीहरूले यो अवसरलाई आत्म खोल्ने क्षणका रूपमा प्रयोग गर्थे । तीजको अवसरमा नारीहरूले सामूहिक गीत र नाचगान मार्फत आफ्ना सुख-दुःख पोख्दथे ।

कतिपय गीतहरूमा श्रीमानको कठोर व्यवहार, सासुससुराको दबाब वा समाजको बेथितिप्रति आक्रोश पोखिन्थ्यो भने कतिपयमा प्रेम, सौन्दर्य र भविष्यप्रतिको आशा झल्किन्थ्यो। गीत मार्फत महिलाहरूले आफूले भोगेका पीडा सार्वजनिक गर्दर्थे  जुन सामूहिक स्वर र रूपमा हुन्थ्यो । तीज त्यसैले नारीहरूको मौन पीडा अभिव्यक्त गर्ने माध्यम पनि थियो। त्यो समय तीजलाई केवल धार्मिक व्रत नभई सामाजिक समभाव र नारी एकताको उत्सवका रूपमा हेरिन्थ्यो। सामूहिक पूजा, साझा भोजन, हाँसो ठट्टा र करुण गीतहरूले तीजलाई गाउँघरको आत्मा झल्काउदथियो । यसरी अघिल्लो पुस्ताका आमा दिदीबहिनीका लागि तीज आत्मप्रकाश, दुःख–सुख साट्ने र आत्मबल पुनः प्राप्त गर्ने महत्त्वपूर्ण पर्वको रूपमा स्थापित थियो।

आजको परिवेशमा तीजको स्वरूप धनी गरिब बीचको असमानतालाई अझ गहिरो बनाउँदै गएको देखिन्छ । पार्टी प्यालेसका भड्किला भोज, बहुमूल्य गरगहना र फेशन प्रदर्शनले यस पर्वलाई मौलिकता भन्दा बढी उपभोगतावादी संस्कृतितर्फ धकेलेको आभास हुन्छ। जबकि तीजको वास्तविक मर्म नारी एकता, आत्मबल, समर्पण र सामूहिक सौहार्दमा निहित छ। यसैले तीजलाई धनी र गरिब सबैको साझा पर्वका रूपमा जोगाउन आवश्यक छ । साथै यसको सांस्कृतिक, सामाजिक र आध्यात्मिक आयामलाई पुनर्जीवित गर्नु आजको आवश्यकता हो ।

यसर्थ  पहिलो, तीजलाई भौतिक प्रदर्शनभन्दा बढी नारी आस्था र आत्मसौन्दर्य्को पर्वका रूपमा मनाउनुपर्छ। गाउँघर मै सामूहिक गीत नृत्य, सादगीपूर्ण भोजन र साझा पूजाआजबाट उत्सवलाई अर्थपूर्ण बनाउन सकिन्छ। दोस्रो, सामूहिक गीतहरूलाई सामाजिक चेतना र समता प्रवर्द्धन गर्ने दिशामा प्रयोग गर्नुपर्छ, जसले नारीबीच आपसी ऐक्यबद्धता र सहानुभूति गहिरो बनाउँछ। तेस्रो, सञ्चारमाध्यम र शिक्षित वर्गले तीजलाई भड्किलो प्रदर्शन नभई मौलिकता र समावेशी भावनाको पर्वका रूपमा प्रस्तुत गर्ने पहल गर्नुपर्छ। जुन अभ्यासले तीजलाई पुनः मौलिक धरोहरको रूपमा पुनर्स्थापना गर्न सक्छ, जसले धनी र गरिब, शहर र गाउँ, सबैलाई समान भावनाले बाँध्दछ । तीज केवल पर्व नभई नारी धर्म, आत्मबल र सामाजिक एकताको शाश्वत प्रतीक बनेर जोगिनु यही समयको आवश्यकता हो। 

तीजको धार्मिक तथा सांस्कृतिक महत्त्व केवल व्रत र पूजामा सीमित नभई सामाजिक एकता, पारिवारिक सौहार्दता र सामूहिक चेतनाको जीवन्त प्रतीक हो। शिव र पार्वतीको पवित्र मिलनलाई आदर्श मान्दै मनाइने यो पर्वले नारीहरूलाई श्रद्धा, भक्ति र आत्मबलमा अभिप्रेरित मात्र गर्दैन, समाजलाई सामूहिक भावनामा बाँध्ने गहिरो अवसर पनि प्रदान गर्दछ । गीत तथा नृत्य मार्फत सुख दुःख, हाँसो खुसी, रोदन आदिको अभिव्यक्ति, साझा पूजापाठ मार्फत पारिवारिक सम्बन्धको मजबुती र सामूहिक भेला मार्फत सामाजिक ऐक्यबद्धताको पुनर्जीवन, तीजको प्रमुख सांस्कृतिक योगदान हो।

आर्थिक दृष्टिले हेर्दा, हाल तीज अनावश्यक भड्किलोपन र उपभोगतावादी प्रदर्शनतर्फ आकर्षित भइरहेको छ। यसले  मौलिक संस्कृतिलाई ओझेलमा पार्ने खतरा बढ्दै गएको छ। अतः तीजलाई सादगीपूर्ण, मितव्ययी र सांस्कृतिक मूल्यमान्यतामा आधारित बनाई मनाउनुपर्ने आवश्यकता छ। गाउँघर वा समाजभित्र सामूहिक पूजा, स्थानीय परिकारहरूको साझा प्रसाद र मौलिक गीत एवम् नृत्यलाई प्राथमिकता दिने प्रचलनले खर्च न्यून गर्न सकिन्छ र सबैलाई समान रूपमा सहभागी गराउँछ।

यसरी, धार्मिक आस्था, सांस्कृतिक मूल्य र आर्थिक मितव्ययलाई एकसाथ जोडेर तीज मनाउँदा यो पर्व धनी र गरिब, शहरी र ग्रामीण सबैका लागि साझा उत्सव बन्न सक्दछ। नारी एकता, आत्मबल र सामाजिक समावेशिताको धरोहरका रूपमा तीजको मौलिकता जोगाउनु नै यसको शाश्वत उद्देश्य हो।

हरितालिका तीजको उत्पत्ति, परम्परा र वर्तमान स्वरूपलाई विश्लेषण गर्दा स्पष्ट हुन्छ कि यो पर्व नारी आस्था र सामाजिक एकताको अद्वितीय प्रतीक हो। पौराणिक कथामा पार्वतीको तपस्या र सङ्कल्पले यस पर्वलाई धार्मिक गाम्भीर्यता झल्काएको छ भने अघिल्ला पुस्ताका आमा दिदीबहिनीहरूले यसलाई दुःख सुख साट्ने, मौन पीडा अभिव्यक्त गर्ने र सामूहिक आत्मबल पुनः प्राप्त गर्ने अवसरका रूपमा विकास गरेका थिए। यसरी तीज केवल धार्मिक व्रत नभई सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च थियो। तर आजको परिवेशमा तीजको स्वरूप उपभोगतावादी प्रदर्शन, गरगहना र भड्किलो भोज भतेरमा केन्द्रित हुँदै गएको देखिन्छ, जसले यसको मौलिकता कमजोर बनाउँदैछ। यस सन्दर्भमा तीजलाई पुनः मौलिक स्वरूपमा फर्काउनु अपरिहार्य छ। सामूहिक पूजा, सादगीपूर्ण भोजन, मौलिक गीत, नृत्य र सांस्कृतिक चेतनालाई प्रोत्साहित गर्ने अभ्यासले धनी, गरिब, शहर र गाउँ सबैलाई समान रूपमा सहभागी बनाउँछ।

यसैले तीजको वास्तविक उद्देश्य भनेको नारी एकता, आत्मबल, दाम्पत्य सौहार्दता र सामाजिक ऐक्यबद्धतालाई पुनर्जीवित गर्नु आजको आवश्यकता हो। धार्मिक श्रद्धा, सांस्कृतिक धरोहर र आर्थिक मितव्ययको सन्तुलन मार्फत तीजलाई साझा पर्वका रूपमा जोगाउन सके यसले नेपाली समाजको समावेशिता, एकता र मौलिकतामा दीर्घकालीन योगदान पुर्‍याउनेछ।

         लेखक:

- चक्र बहादुर कार्की 

gmail: [email protected]

लेखक नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव हुनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट समाजशास्त्र विषयमा विद्यावारिधि अनुसन्धानरत  हुनुहुन्छ । 

(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)