शुक्रबार २९ जेठ, २०८३

नेपाली समय

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

काठमाडौँ, २७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो । उहाँले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले आफ्नो युवावय सम्झँदै भन्नुभयो, “यो क्षणमा मैले आफ्नो युवावयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।” 

प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “यो सामर्थ्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।”

प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलताविस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको उल्लेख गर्दै विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताउनुभयो । उहाँले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवर्द्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यबद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महसुस भएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।