काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीताका विरुद्ध दिएको अभिव्यक्ति विरुद्ध संयुक्त नागरिक पार्टीले खबरदारी सभा गरेको छ । प्रधानमन्त्री ओलीले गत आइतबार पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास’ नामक पुस्तक विमोचनको क्रममा दिएको समावेशिता विरोधी अभिव्यक्तिप्रति घोर निन्दा र भर्त्सना गर्दै शुक्रबार संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले माइतीघर मण्डलामा खबरदारी कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस्तै बहुविवाहको लागि ढोका खोल्ने गरी कानूनमा संशोधनको समेत प्रस्ताव गरिएकोप्रति पनि गम्भीर आपत्ति जनाउँदै खबरदारी गरिएको छ । प्रमले दिएको अभिव्यक्ति नसच्याए र ल्याउन लागिएको बहुविवाह सम्बन्धी विधेयक तुरुन्त फिर्ता नगरिए थप सङ्घर्षका कार्यक्रमहरू अघि बढाइने वक्ताहरूले बताएका छन् ।
यसैबीच विगत १५९ दिनदेखि माइतीघर मण्डलामा ओबिसी महासङ्घको नेतृत्वमा दलित समुदायले गर्दै आएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सम्बोधन गर्न पनि खबरदारी गरिएको जनाइएको छ । संविधानसभा सदस्य एवम् पूर्वमन्त्री विश्वेन्द्र पासवान,संयुक्त नागरिक पार्टीकी बरिस्ठ नेता कमला हेमचुरी,उपाध्यक्ष डा. जीत घले, पूर्व राजदूत डा. निर्मल विश्वकर्मा,दलित अभियन्ता डा.मित्र परियार,संयुक्त नागरिक पार्टीका उपमहासचिव श्याम बहादुर राई,जसपा नेपालका केन्द्रीय सदस्य प्रदिप घताल,संविधानसभा सदस्य रामशिला ठाकुर,ओविसी महासंघका अध्यक्ष गजेन्द्र ठाकुर,उपेक्षित उत्पीडित तथा दलित वर्ग विकास समितिका गाेपाल प्रकाश सुनार,वादी विकास समितिकी बसन्ती वादी लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै आ-आफ्नो धारणा सहित ओली सरकारलाई खबरदारी गरेका छन् ।