भोजपुर, १३ साउन । भोजपुर जिल्ला अदालतमा आउने अधिकांश मुद्दाहरुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान थालेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुमा सम्बन्ध विच्छेदनका नै बढी छन । चार सय ९२ मुद्दा मध्ये तीन सय ४१ वटा मुद्दा जिल्ला अदालत भोजपुरले फर्छ्यौट गरेको जिल्ला अदालतका निमित्त श्रेस्तेदार प्रकाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ दशमलव ३० प्रतिशत मुद्दा एक आर्थिक वर्ष भित्र फर्छ्यौट भएका हुन । कुल मुद्दाहरू मध्ये अव एक सय ५१ वटा मुद्दाहरू मात्र फैसलाको चरणमा रहेको छ ।
पारिवारिक विवाद सम्बन्धी मुद्दा अन्तर्गत सम्बन्ध विच्छेदका दुई सय ५६ वटा मुद्दा परेका थिए । जसमा दुई सय १३ वटा फर्छ्यौट भएका छन भने ४३ वटा फैसला हुन बाँकी रहेको सूचना प्रविधि सहायक केवल प्रधानले जानकारी दिनुभयो । यस्तै सोही शीर्षकको अंशबन्डा मुद्दामा २९ वटामा १५ वटा फर्छ्यौट भयो भने १४ वटा बाँकी छ । पारिवारिक मनमुटाव, वैदेशिक रोजगारी, आपसी असमझदारी लगायतका विषयहरूका कारण जिल्लामा सम्बन्ध विच्छेदका मुद्दाहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
जिल्ला अदालतमा दुनियाँवादी देवानी, सरकारवादी देवानी, सरकारवादी फौजदारी मुद्दा लगायतका मुद्दाहरू दर्ता छन । गत आर्थिक वर्षमा दर्ता भएर फैसला हुन बाँकी रहेका मुद्दाहरू पनि यस आर्थिक वर्षमा फैसला हुने जिल्ला अदालत भोजपुरले जनाएको छ । जिल्ला अदालतले तयार गरेको एक आर्थिक वर्षको विवरण अनुसार करणी सम्बन्धी ४२ मुद्दा दर्ता भएकामा २७ मुद्दा फर्छ्यौट भएका छन् र त्यसमा १५ मुद्दा बाँकी छन् । बहुविवाहका पाँच मुद्दामा तीन वटा फर्स्यौट भएको र दुई मुद्दा बाँकी रहेको छ ।
ज्यान कसुर सम्बन्धी मुद्दामा २८ दर्ता भएकोमा १४ फर्छ्यौट भएको छ भने १४ वटै मुद्दा बाँकी रहेको छ । सम्पत्ति सम्बन्धी २९ मुद्दामा १२ फर्छ्यौट भएका छन् भने १७ बाँकी रहेको जिल्ला अदालतले जनाएको छ । गत आर्थिक वर्षमा फैसला हुन बाँकी रहेका मुद्दाहरू यस आर्थिक वर्षमा टुङ्ग्याइने छ ।