काठमाडौँ, १२ साउन । समलिङ्गी विवाह,लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृति र विसङगतिका विरुद्ध संयुक्त नागरिक पार्टीको मुद्दा, पहिचान तथा आन्दोलन परिचालन विभागले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
'स्वेच्छाचारिता चाहिँदैन, लिङ्ग परिवर्तन गर्न पाइँदैन ! समलिङ्गी विवाह दर्ता खारेज गर ! समलिङ्गी विवाहलाई मान्यता दिने अन्तरिम आदेश खारेज गर ! विवाह महिला र पुरुषको बीचमा मात्र कायम गर ! भ्रूण हत्या अन्त्य गर !' लेखिएका प्लेकार्ड सहित चर्को घाममा चर्का नाराहरू लगाउँदै सयौँ प्रदर्शनकारीहरू माइतीघर स्थित सडकमा उत्रिएका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा नागरिक सरोकार नेपाल, क्राउन अफ ब्यूटी म्याटर्निटी होम, भ्रूणका आवाज लगायतका संस्थाहरू सहभागी थिए ।
विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले समाजमा परम्परागत पारिवारिक मूल्यमान्यता र सांस्कृतिक संरचनामाथि खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार पछिल्लो समय समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने र लिङ्ग परिवर्तनलाई सहज बनाउने प्रयासहरूले सामाजिक विकृति बढाउँदै छ । साथै गर्भपतनको अधिकारलाई अझै उदार बनाउनुले मानव जीवनको अधिकारमाथिनै प्रश्न उठाएको उनीहरूले दाबी गरे ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने सरकारी प्रयास अविलम्ब खारेज गरिनु पर्ने,लिङ्ग परिवर्तन जस्ता घृणित कार्यहरूलाई रोक्नु पर्ने,बलात्कार तथा आमाको स्वास्थ्यमा गम्भीर समस्या हुने विशेष परिस्थितिमा बाहेक अन्य अवस्थामा गर्भपतन गर्न नपाउने, परम्परागत पारिवारिक संरचना र नैतिक मूल्यमान्यताको संरक्षण गर्नुपर्ने मागहरू समेत उनीहरूले राखेका छन् । “हामीलाई आधुनिकताको नाममा आफ्नो संस्कृति र मूल्यमान्यता बिर्सेको सह्य छैन । यस्ता विषयहरूले हाम्रो समाजलाई विभाजन गर्छ र भावी पुस्तालाई गलत सन्देश दिन्छ।” उनीहरूले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले भने " यो देशका अहिलेका शासकहरूमा आशा, विश्वास र प्रेम यी तीनैवटा गुण नभएका कारण मुलुकमा भ्रष्टाचार, अनियमितता, विकृति-विसङ्गती, कुरीति, कुसंस्कार, बेथिति, मानव अधिकारको उल्लङ्घन, व्याप्त भएको बताए । अध्यक्ष कामीले सम्बोधनकै क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि चुनौती दिँदै भने " नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र शाह तिमी फेरीपनि राजा हुन्छु भनेर केही हिन्दु अभियन्ताहरूलाई उचालेर जनता मर्ने र मार्ने अभियानमा नलाग, यदि तिमी साँच्चै देश र जनताको हित चाहन्छौ र नेतृत्व गर्न चाहन्छौ भने संयुक्त नागरिक पार्टीको सदस्यता लेउ र जनताद्वारा प्रत्यक्ष निर्वाचित भएर देशको नेतृत्व गर्दै जनताको सेवा गर, अन्यथा पूर्व राजाको हैसियतमा अहिले पाउँदै आएको सबै सेवा सुविधा पनि गुमाउनु पर्ला ।"
सोही विरोध सभालाई सम्बोधन गर्दै अर्का वक्ता ठा.के.वी. राेकायाले भने " यो देशका शासकहरू नेपालमा समलिङ्गी विवाहलाई मान्यता दिएर नेपाललाई समलिङ्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउन चाहिरहेका छन् । यिनीहरूको यस्ता कार्यहरूलाई हामीले नियन्त्रण गर्न नसके देशै नरहने अवस्था सृजना भइसकेको छ । तसर्थ हामीले यस्ता खाले गतिविधिलाई समयमै नियन्त्रण गर्नु आजको आवश्यकता हो ।"
विरोध सभामा समलिङ्गी विवाह,लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध संयुक्त नागरिक पार्टीका वरिष्ठ नेता कमला हेमचुरी,उपाध्यक्ष डा. बलराम विश्वकर्मा (सैलेश), नागरिक सरोकार केन्द्रका डा. जाेमेश वड लगायत वक्ताहरूले बोलेका थिए भने कार्यक्रम सञ्चालन पार्टीका उपमहासचिव तथा प्रवक्ता एवम् मुद्दा, पहिचान तथा आन्दोलन परिचालन विभागका प्रमुख विदुर अधिकारीले गरेका थिए ।