मंगलबार २७ माघ, २०८२

नेपाली समय

‘जलवायु परिवर्तनले नकारात्मक असर गरिरहेको छ’

‘जलवायु परिवर्तनले नकारात्मक असर गरिरहेको छ’

काठमाडौँ, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठ जलवायु परिवर्तनका कारण विश्वमा नकारात्मक असर परिरहेको भन्दै नेपाल पनि त्यसबाट जोगिन नसकेको बताउनुभएको छ । 

रोटरी क्लब अफ पाटन हेरिटेजको आयोजनामा आज काठमाडौँको छाउनीमा भएको वृक्षारोपण कार्यक्रममा उहाँले काठमाडौँमा पानी सुक्दै गएको, मधेश प्रदेशमा खडेरीले आक्रान्त पारिरहेको जलवायु परिवर्तनको असर भएको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले वातावरण जोगाउनतर्फ ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । उपनेता श्रेष्ठले यस्तो अवस्थामा वन, वन्यजन्तु संरक्षण तथा वृक्षारोपणमा सबैको चासो राख्नुपर्नेमा जोड दिनुभयो । प्रकृति तथा संस्कृति जोगाउन युवापुस्तालाई प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । 

राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले सबै मिलेर वातावरण संरक्षणमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्ग्रहालयभित्र पुराना, लोप हुन लागेका र औषधीय गुण भएका बिरुवा माग गरेर रोपण गरिएको जानकारी दिनुभयो । 

रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष प्रदीप श्रेष्ठले ‘हरियो वन नेपालको धन’ भन्ने गरिएकामा अहिले नेपालमा क्रङ्क्रिटका भवनले भरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । क्लबले उपत्यकामा एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज वृक्षारोपण गरेको रोटरियन केपी खनालले बताउनुभयो ।