भोजपुर, १० साउन । भोजपुरको ऐतिहासिक टक्सार क्षेत्रको युवाहरूको अगुवाइमा सरसफाइ गरिएको छ । युवाहरूको संस्था बिहानी फुटबल क्लबको आयोजनामा शुक्रवार सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

विगत देखिनै धार्मिक, सामाजिक, खेलकुद, सरसफाइ लगायतका क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था बिहानी एफसीले टक्सार सल्लाघारी क्षेत्र, तीन धारा, बुद्ध बिहार, गणेश थान, करुवा पार्क र आसपास क्षेत्रको सरसफाइ गरेको अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिनुभयो । सोकार्यमा तीन धारा लाखे समाज र नेवा: मिसा दबुले पनि सहकार्य गरेको थियो ।

सोहीक्रममा करुवा रहेको क्षेत्र आसपासमा राष्ट्रिय झण्डा समेत लगाइएको छ ।गिर्वाणयुद्ध शाहको पालमा स्थापित टक्सार बजार क्षेत्र ऐतिहासिक भएकाले राष्ट्रिय झण्डा समेत लगाइएको संस्थाका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । संस्थाका सदस्य तथा जिल्लावासीबाट झण्डा सौजन्य गरिएको हो ।

फुटबलका लागि युवाहरूले बनाएको संस्था अहिले जिल्लामा सामाजिक तथा सरसफाइ अभियान सञ्चालन गर्ने प्रमुख निकाय जस्तै बन्न पुगेको छ ।