भोजपुर, ७ साउन । आफनो पालिका भित्रका बिद्यार्थीहरुलाई प्राविधिक शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यका साथ पालिकाहरूले अनुदान दिन सुरु गरेका छन । जिल्लाका पाँच पालिकाले विद्यार्थीका लागि निःशुल्क अनुदान उपलब्ध गराउने छन् ।
भोजपुर नगरपालिका वडा नम्बर ६, देउरालीमा रहेको सुम्निमा बहुप्राविधिक शिक्षालयमा अध्ययनका लागि भोजपुर नगरपालिका १३ जना, पौवादुङमा गाउँपालिकाले १२ जना, आमचोक गाउँपालिका छ जना र हतुवागढी गाउँपालिकाले छ जना बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनको लागि सत प्रतिशत अनुदान उपलब्ध गराएको हो । यस्तै रामप्रसाद राई गाउँपालिकाले आफ्नै वडा नम्बर पाँचमा सञ्चालनमा रहेको राममिथिला बहुप्राबिधिक शिक्षालयमा अध्ययनका लागि अनुदान उपलब्ध गराएको छ ।
अबको शिक्षा प्राविधिक प्रभावकारी हुने भएकाले नगरपालिकाले पनि यस आर्थिक वर्षबाट अनुदानको कार्यक्रम सुरु गरेको भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले नगर भित्रका १३ जना एसईई उत्तीर्ण विद्यार्थीलाई अनुदानमा पढ्ने व्यवस्था गरेको छ । नगरले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने छ ।
भोजपुरमा सञ्चालित सुम्निमा बहुप्राविधिक शिक्षालयमा तीन बर्से कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियररिङ, कृषि पशु विज्ञान र कृषि बाली विज्ञानका कक्षाहरू सञ्चालन हुँदै आएको शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार तीन बर्से कार्यक्रम अन्तर्गत एक विद्यार्थी बरावर ५० हजार शुल्क लाग्ने छ । जसमा किस्ताबन्दीरुपमा रकम भुक्तानी गर्न सकिने छ । पहिलो वर्ष २३ हजार, दोस्रो र तेस्रो वर्ष १३ हजार पाँच सयका दरले रकम भुक्तानी गर्न सकिने छ ।
जिल्लाको पौवादुङमा गाउँपालिका १२ जना पालिकाका विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि सत प्रतिशत अनुदानको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीलाई अध्ययनका लागि आवेदन गर्न पनि पालिकाले माग गरेको छ ।
यस्तै जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले प्राविधिक शिक्षाका लागि १६ जनलाई प्राविधिक शिक्षाका लागि अनुदानको व्यवस्था गरिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले भोजपुरका लागि तीन वटै संकायका लागि दुई दुई जना, सहिद स्मृति मावि इटहरीमा विज्ञान संकायका लागि दुई जना, नरबहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरीका लागि आठ जनालाई पालिकाले अध्ययनको लागि अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक जनशक्ति उत्पादनमा पालिकाको सहयोगले मद्दत पुग्ने छ भने बिद्यार्थीहरुलाई प्रोत्साहन पनि हुने छ ।”
दक्षिणी क्षेत्रको हतुवागढी गाउँपालिकाले पनि छ जना बिद्यार्थीहरुलाई अनुदानमा प्राविधिक शिक्षा पढ्नका लागि रकम व्यवस्थापन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुमनहरी राईले बताउनुभयो । रामप्रसाद राई गाउँपालिकाले पनि बिद्यार्थीहरुलाई अनुदान उपलब्ध गराउँदै आएको राममिथिला बहुप्राबिधिक शिक्षालयका प्रमुख नवीन चापागाईले बताउनुभयो ।
भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन । अन्य पालिकाहरूले पनि अनुदानको व्यवस्था गर्न सकेमा प्राविधिक शिक्षा पनि मजबुत हुने शिक्षालय प्रमुख चापागाईको भनाई रहेको छ । प्राविधिक शिक्षाका लागि भोजपुर नगरपालिकामा सुम्निमा र जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्बर पाँचमा राममिथिला बहुप्राबिधिक शिक्षालय सञ्चालनमा रहँदै आएको छ ।