रौतहट, ३२ असार । रौतहट, मौलापुर नगरपालिका–६ पथरा बुधराममा सञ्चालित श्री खानेपानी आयोजनाको पर्खाल निर्माणमा गम्भीर अनियमितता भएको आरोप लागेको छ। सङ्घीय सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ मन्त्रालय, वीरगञ्जबाट ४० लाख रुपैयाँ बजेट प्राप्त भएको उक्त आयोजना उपभोक्ता समितिबाट सञ्चालन गरिएको हो।
उक्त आयोजनामा उपभोक्ता समितिका अध्यक्ष विरचन राम, सचिव शान्ति देवी र कोषाध्यक्ष आशुतोष साह रहेका छन्। आयोजनाको निर्माण कार्य अपूर्ण रहेको, रंगरोगन नगरेको र माटो पुर्ने काम समेत अधुरो रहेको स्थानीयको गुनासो छ।
उपभोक्ता समितिबाट ६ लाख रुपैयाँको चेक गौर नगरपालिका - ४ टिकुलियाका संजय सहनीले लिएको पुष्टि भएको छ। साथै, निर्माणमा खटिएका मजदुरलाई १२ घण्टा काम गराइए पनि ८ घण्टाको मात्र ज्याला दिएको आरोप आम जनता पार्टीका केन्द्रीय सदस्य मनोज यादवले लगाएका छन्। तर, उपभोक्ता समिति स्रोतका अनुसार संजय सहनी र मनोज यादव आयोजनाको औपचारिक सदस्य नै नरहेको स्पष्ट छ। निर्माणमा प्रयोग भएको छड, सिमेन्ट, इट्टा तथा गिट्टीको रकम अझै तिर्न बाँकी रहेको जनाइएको छ।
यसैबीच, टिकुलिया निवासी संजय सहनीले मनोज यादवमाथि १० लाख ६३ हजार रुपैयाँ लिएर अपारदर्शी ढङ्गले कार्य गरेको आरोप समेत लगाएका छन्। यस आयोजनामा देखिएको अपारदर्शिता र आपसी आरोप प्रत्यारोपले स्थानीयमा निराशा पैदा गरेको छ। खानेपानीको लागि आएको बजेटमा निर्माण सामग्री खरिद गरेको बिल उपभोक्ता समितिको नाउँमा बिल जारी गर्नु पर्नेमा जयमाता दी ट्रेडर्सले उपभोक्ता समितिको सरोकार नै नभएको व्यक्ति रौतहट जिल्ला अदालतबाट दोषी ठहर भएको संजय सहनीको नाउँमा ९ लाखको विल जारी गरेकोले आफैमा शङ्कास्पद रहेको ले उच्च स्तरीय रूपमा छानबिन गर्न समेत माग गरे ।
लागु औषध नाइट्रोभेट मुद्दामा नेपाल पत्रकार महासङ्घको कोषाध्यक्ष समेत रहेका सहनीलाई रौतहट जिल्ला अदालतले तीन वर्ष कैद र १ लाख ५० हजार जरिवानाको फैसला सुनाएका छन् ।