भोजपुर, ३० असार । खोज तथा अनुसन्धानको क्षेत्रमा कार्य गर्दे आएको अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी) भोजपुर बहुमुखी क्याम्पसले बहुबिषयमा आधारित जर्नल विमोचन गरेको छ । तेस्रो प्रकाशनको रुपमा जर्नल विमोचन भएको हो ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले सोमवार क्याम्पसमा आयोजित कार्यक्रममा जर्नलको विमोचन गर्नुभयो । जर्नल विमोचन गर्नुहुँदै नगर प्रमुख आलेले आरएमसीबाट प्रकाशित खोज तथा अनुसन्धान मूलक जर्नल सबै क्षेत्रका लागि उपयोगी हुने बताउनुभयो । विषय विज्ञ सहितको टोलीले तयार गरेको खोजमूलक जर्नल अनुसन्धानकर्ता, प्राध्यापक, शिक्षक, बुद्धिजीवी लगायतको लागि उपयोगी रहेको नगर प्रमुख आलेले बताउनुभयो ।
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. पर्वत कुमार राईले विगत देखिनै अनुसन्धान मुलककार्यलाई प्रभावकारी बनाउन क्याम्पसमा अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी) बनेको बताउँदै यसले जिल्ला तथा राष्ट्रिय स्तरका बिषयबस्तुहरुमा गरेको अनुसन्धानमूलक विषयहरू जर्नलमा प्रकाशित गर्दे आएको बताउनुभयो ।
अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी) ले विगत देखिनै जिल्ला तहमा अनुसन्धान मूलक कार्यक्रमहरू गर्दे ती विषयहरूको पनि प्रस्तुतीकरण गर्दे आएको संयोजक रविन्द्र कुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,
“जिल्लाको विकाससँग सम्बन्धित कार्यपत्र सहित विभिन्न खोजमूलक कार्यक्रम समेत अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी) ले जिल्ला तहमा गरी सकेको छ ।” आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ ।
जर्नल विमोचन कार्यक्रममा प्राध्यापक, विद्यार्थी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।