भोजपुर, ३० असार । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा व्यवसायी बद्रीकुमार श्रेष्ठ विजयी हुनु भएको छ । निर्वाचनमा प्रतिस्पर्धी निरकुमार विश्वकर्मालाई ४६ मतान्तरणले पराजित गर्दे आगामी कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी हुनु भएको हो ।

कुल तीन सय २० जना मतदाता रहेकोमा दुई सय ७९ मत खसेको थियो । निर्वाचनमा श्रेष्ठ र विश्वकर्मा समूहले भिन्न भिन्न उम्मेदवार उठाएको थियो । जसमा श्रेष्ठले एक सय ५८ मत पाउनुभयो भने विश्वकर्माले एक सय १२ ल्याउनुभयो । यस्तै प्रथम उपाध्यक्षमा श्रेष्ठ समूहका प्रकाश श्रेष्ठ एक सय ६६ मत सहित विजयी हुँदा अर्का समूहका प्रवीण कुमार सुवालले ९३ मत पाउनुभयो । द्वितीय उपाध्यक्षमा विश्वकर्मा समूहका बद्रीकुमार श्रेष्ठ एक सय ४८ मत सहित विजयी हुनुभयो । श्रेष्ठ समूहका महेश्वर बजिमयोले एक सय तीन मत पाउनुभयो ।
महासचिवमा विश्वकर्मा समूहका बिन्द्र कुमार राई एक सय ४० मत ल्याई विजयी हुनु भयो भने श्रेष्ठ समूहका शम्भु आचार्य एक सय १८ मत सहित पराजित हुनुभयो । सचिवमा स्वतन्त्रबाट बिमल रणपहेली एक सय १३ मत सहित विजयी हुनुभयो । सोही पदका लागि विश्वकर्मा समूहका अनिल बस्नेतले ७३ मत र श्रेष्ठ समूहबाट बसन्ती राईले ६५ मत पाउनुभयो ।
कोषाध्यक्षमा श्रेष्ठ समूहबाट जीवन श्रेष्ठले एक सय ४९ मत पाएर विजयी हुनु भयो भने विश्वकर्मा समूहका सुरेन्द्र देव बलले एक सय मत पाउनुभयो । समिति सदस्य तर्फ छ जनाका लागि पारस तामाङ एक सय ६९ मत, ज्ञान कार्की एक सय ५४ मत, लेखराज श्रेष्ठ एक सय ४९ मत, लाल बहादुर बिक एक सय ४३ मत, राजेश श्रेष्ठले एक सय २३ र अनिल बराइली एक सय १७ मत ल्याएर विजयी हुनभयो ।
तीन महिला सदस्यमा भने शान्ता कुमारी राईले एक सय ६१ मत, उर्मिला थापा एक सय ४३ मत र अनिता राई एक सय १९ मत सहित विजयी हुनुभयो । १५ जनाको नेतृत्वका लागि ३० जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक बेनु बहादुर कार्कीले जानकारी दिनुभयो । सङ्घको असार २७ गते १४ औँ साधारणसभा जिल्ला सदरमुकाममा सम्पन्न भएको थियो भने नेतृत्वका लागि आइतबार निर्वाचन भएको थियो ।
२०३३ सालमा स्थापना भएको उद्योग वाणिज्य सङ्घ भोजपुर व्यवसायीका हित र संरक्षणमा क्रियाशील रहँदै आएको छ।