भोजपुर, २८ असार । भोजपुरको आमचोक गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान गरेको छ । पालिका भरिका विद्यालयबाट हालै प्रकाशित माध्यमिक विद्यालय परीक्षा (एसईई) मा उत्कृष्ट जिपीए ल्याउने दुई विद्यार्थी नगद पुरस्कार तथा सम्मानपत्रबाट सम्मानित भएका हुन ।
गाउँपालिकाको १८ ओं गाउँसभाको अवसरमा दुम्मानाबाट सबैभन्दा बढी तीन दशमलव ३६ जिपीए ल्याई पालिकास्तरमा प्रथम स्थान हासिल गर्न सफल छात्रा संगिना श्रेष्ठ र सोही विद्यालयबाट छात्र तर्फ सबैभन्दा बढी तीन दशमलव १२ जिपीए ल्याउने छात्र पब्लिक श्रेष्ठलाई जनही नगद पुरस्कार २५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको गाउँपालिका अध्यक्ष अशाेक राईले बताउनुभयो ।
यस्तै शैक्षिक सत्र २०८१ मा उत्कृष्ट विद्यालय छनौट हुने पञ्चावती आधरभुत विद्यालय आमचोक-२, हात्तिगौडेलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ । यसले शैक्षिक सुधारमा पनि प्रोत्साहन हुने अध्यक्ष राईको धारणा छ ।