रौतहट, १८ असार । नेपाल-भारतको सीमा क्षेत्रबाट हुने अवैध कारोबार गराउनमा रकक्षहरुको भूमिका निकै महत्त्वपूर्ण रहेका छन् । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको बीओपीदेखि लिएर नेपाल प्रहरीको सीमा प्रहरी चौकीको सेटिङमा दैनिक लाखौँ लाखको मालसामानहरू भारतबाट नेपालमा तथा नेपालबाट भारतमा निर्बाध रूपमा जाने गरेका छन् ।
भारतसँग जोडिएका ३२ किलोमिटर सीमाक्षेत्रमा यतिखेर तस्करहरूको रजगज रहेको हो । मोटरसाइकल, साइकलबाट मालसामानहरू ल्याउनका लागि हरेक नाका सहित भित्री बाटोमा रहेका युनिटहरू सेटिङहुँदा तस्करी नियन्त्रणको अपेक्षा गरिएपनि ह्वातै बढेका छन् । विभिन्न चोर नाकाहरूबाट अहिले निर्बाध रूपमा कपडा देखि लिएर स्पेयर पार्ट्स सम्म, सुख्खा देखि लिएर सुर्ती सम्म, खाद्यान्न देखि लिएर मानवीय जीवन सँग जोडिएका सामानहरूको तस्करी कार्य सञ्चालनमा आएको श्रोतले बताए । नेपालबाट-भारत तर्फ मदिरा, विदेशी मकै, कालो मरीच, सुकमेल, कष्मेटिक, नेपाल लिभरका सामानहरू निर्बाध रूपमा जाने गरेको छ । गाई गोरु देखि लिएर भैँसी राँगा, पाडाहरूको तस्करी ठूलो परिमाणमा भइरहेका ती श्रोतले दाबी गरेका छन् ।
अहिले खेती किसानी गर्नेहरूको लागि नेपाल सरकारले विऊविजन, रासायनिक मल तथा किटनाशक औषधीको व्यवस्थापन गराउन नसक्दा उक्त सामानहरू तस्करीको माध्यमबाट आएपनि चर्को मूल्यमा किसानहरू खरिद गर्न बाध्य छन् यतिखेर रौतहट जिल्लामा मौलाउँदै गएपनि नियमनकारी निकाय सेटिङमै रमाएको हो ।
सीमाक्षेत्रबाट चुहावट हुन नदिन सशस्त्र प्रहरीको लक्ष्मीपुर बेलविछवा, औरैया, रामपुरखाप, बंकुलमा विओपीहरु रहेको हो । नेपाल प्रहरीका ब्रम्हपुरी, लक्ष्मीपुर बेलविछवा, बन्जरहा, औरैया, मठिया, लतमरी, जयनगर, बंकुल सहितका विभिन्न स्थानहरूमा युनिटहरू रहँदा नियन्त्रण गर्नुको साटो उल्टै सेटिङ कै आधारमा राजस्व छलेर सामानहरूको तस्करी निर्बाध रूपमा जारी रहेका छन् ।
राति ११ देखि ४ बजे सम्मको राज के हो ?
गौरको पूर्वबाट दिलिप साह, चुन्नु साह, नेपाल र भारतबाट कष्मेटिक सामानहरू सहित टिभी, इन्भटर, कपडा ओसार पसार गर्दै आएको छ भने महादेवपटीबाट भारत बैरगनियाका रोशन जयसवाल सहितका एक दर्जन तस्करहरूले दैनिक लाखौँको कपडा ओसारेर गौरका ठूलठूला पसलमा दिने गरेका छन् । यस्तै बकैया नदी पारी ईशनाथ नगरपालिकाको वडा नम्बर १ बन्जरहाका कुख्यात तस्कर अमरजित साहले राति ११ बजे देखि बिहान ४ बजे सम्म लाखौँ लाख मूल्य बराबरको कपडा, मलखाद्य, स्पेयर पार्ट्स लगायतका दैनिक उपभोग्य बस्तुहरू ओसारिरहेका छन् ।
यसैगरी औरैया, मठिया, महुलिया, लतमरी, खापर, जयनगर, बंकुल, अरुवा खोला भएर अहिले तस्करको लाइन सुरक्षाकर्मीहरूले खोलेर दैनिक लाखौँलाख राजस्व चुहावट गर्दै आएका छन् । यसरी सीमा क्षेत्रबाट हुने ठूलो परिमाणका तस्करीलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी असफल रहेको देखिन्छ ।
सीमा क्षेत्रबाट हुने चुहावटको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल ११नम्बर गणका एसपी सन्तोषकुमार बस्नेतले आफू दैनिक रूपमा निगरानी गरिराखेका छौँ, सीमाबाट चुहावट नभएको दाबी गर्छन् ।