भोजपुर, १६ असार । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । सरकारी तालिका अनुसार पालिका भित्रका १० वटै वडाका बालबालिकाहरूले खोप पुरा गरेकाले गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो ।
जन्मेदेखि १५ महिना सम्मका एक सय ७५ जना बालबालिकाले नियमितरूपमा खोप लगाई रहेको र १६ देखि ५९ महिनाका सम्पूर्ण पाँच सय ५५ जना बालबालिकाले लगाउनु पर्ने सबै पुरा गरेकाले पालिकालाई नै पूर्णखोप पालिका सुनिश्चित गरी दिगोपना भएको घोषणा गरिएको हो । यसअघि नै पालिका भित्रका १० वडा पनि पूर्णखोप सुनिश्चित वडा घोषणा भई सकेका छन । गाउँपालिका अन्तर्गतका १० वटै वडामा रहेका ११ वटा स्वास्थ्य संस्थाहरूले चैत्र महिनामा घरधुरी सर्वेक्षण र वैशाख महिनामा थप खोप अभियान सञ्चालन गरी सबै बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चितता गरिएको थियो ।
गाउँपालिका अध्यक्ष राईले आगामी दिनहरूमा बालबालिकाहरूले निश्चित उमेर समूह भित्र पाउने खोपहरू पुरा गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सोक्रममा गाउँपालिका भित्रका ७२ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका, ११ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई समेत प्रशंसापत्रले सम्मान गरिएको छ ।
पालिका अध्यक्ष अशोक राईको अध्यक्षता तथा स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि सृजना बनमालीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । योसँगै आमचोक पूर्णखोप सुनिश्चित गाउँपालिकामा आठौँ बनेको छ भने जिल्लाको उत्तर षडानन्द नगरपालिका अव घोषणा हुन बाँकी छ ।
भोजपुर जिल्लालाई भने आगामी असार २३ गते पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।