बिहीबार ०१ साउन, २०८२

नेपाली समय

योग शिक्षाले जीवन परिवर्तनमा सहयोग गर्छ’

योग शिक्षाले जीवन परिवर्तनमा सहयोग गर्छ’

भोजपुर, ७ असार । योग शिक्षालाई नियमित गर्न सकिएमा यसले जीवन परिवर्तनमा पनि सहयोग गर्ने भोजपुरमा आयोजित योग दिवसका सहभागीहरूले बताउनु भएको छ । 

११ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शनिवार भोजपुरमा आयोजित कार्यक्रमका उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण बहादुर मोक्तानले मानव जीवनको दैनिकीमा योग अति आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग शिक्षाले मानिसको दैनिक, आहार बिहार र व्यायाम आदिमा ध्यान दिन र आफु र समाजलाई स्वास्थ्य जीवन दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दे आई रहेको छ ।” यसलाई नियमित गर्न आवश्यक देखिन्छ । पतञ्जलि योग समिति भोजपुर र महिला पतञ्जलि योग समिति, नगर समिति लगायतका सङ्घ संस्थाले प्रभातफेरी, योग अभ्यास सहितको विभिन्न कार्यक्रमहरू आयोजना गरेको महिला पतञ्जलि योग समिति अध्यक्ष उर्मिला श्रेष्ठले बताउनुभयो ।

कर्मचारी मिलन केन्द्र भोजपुरको सहकार्यमा भोजपुरमा हाल नियमित आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा योग अभ्यास भई रहेको छ । सोहीक्रममा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा केन्द्रको आयोजनामा पनि विभिन्न कार्यक्रम गरिएको छ । 

कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवन प्रवर्धनका लागि योग अभ्यास जरुरी रहेको धारणा राख्दै जिल्ला तहमा आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत सञ्चालन हुँदै आएका नागरिक आरोग्य कार्यक्रम प्रभावकारी देखिएको बताउनु भएको थियो । स्वस्थ, सुखी र समृद्ध समाज निर्माणका लागि पनि योग जरुरी रहेको खेलकुद विकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले बताउनुभयो । 

सदरमुकाम सहित हाल भोजपुर जिल्लामा रहेका तीन वटा आयुर्वेद औषधालयमा नागरिक आरोग्य अभियान सञ्चालन भई राखेको छ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि हरेक वर्षको जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आइएको छ ।