(दाङबाट फर्केर नोदनाथ त्रिताल र रोहित कँडेल)
कीर्तिपुर, २ असार । दाङ जिल्लाको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले अध्यक्षको कार्यकक्षमा महँगो सोफाको सट्टा स्थानीय बाँसबाट बनाइएका कुर्सीहरू राखेको पाइएको छ । आफु बस्ने कुर्सी र आगन्तुकहरूको लागि राखिएको कुर्सी समान रहेको उहाँले बताउनु भयो । कार्यकक्षमा स्थानीय बाँसबाट स्थानीय युवाहरूले उत्पादन गरेको कुर्सीहरू प्रयोग गरेर अध्यक्षले रचनात्मक सुरुवात गरेको बताउनु भयो ।
उहाँले देश बनेन बनेन भन्ने चिन्ता सबैले गर्ने, तर व्यवहारिक रूपमा देश बनाउनेतर्फ कोही नलाग्ने भएकोले अघिल्लो आ.व. २०८१।०८२ को वार्षिक कार्यक्रममा राप्तीका युवा र महिला, उद्यमशीलतामा पहिला भन्ने नारा तय गरी स्थानीय युवाहरूलाई उद्यमशीलता तालिम दिएको र तालिमपश्चात् सहभागी युवाहरूले बनाएको कुर्सीहरू खरिद गरी कार्यकक्षमा राखेको बताउनु भयो ।
उहाँले सो कार्यक्रम अन्तरगत विपन्न समुदायका युवाहरूलाई लक्षित गरेर उद्यमशीलता तालिम प्रदान गरेको र तीनै युवाहरूको सीपबाट राप्तीमै बनाएको कुर्सीहरू भएको पनि बताउनु भयो । गाउँपालिकाको वडा नं. ५ मा करङ्गीकोट भन्ने गाउँका विपन्न समुदायका युवाहरूलाई तालिम दिएर उत्पादन भएका कुर्सीहरू च्याम्बरमा राखेको उहाँले जानकारी दिनुभयो । ‘उत्पादन गरेर मात्र भएन, यसलाई प्रवद्र्धन गर्नुपरो, प्रयोग गर्नुपरो, कसै न कसैले त सुरुवात गरिदिनुपर्यो भनेर यो उद्यमशीलताको तालिम पाएका युवाहरूबाट उत्पादन गराई कार्यकक्षमा सोफाहरू सबै हटाएर यी स्थानीय उत्पादनका कुर्सीहरू राखेको हो ।’ अध्यक्षले भन्नुभयो । अध्यक्ष नै यस्तो कुर्सीमा बसेपछि अरूले पनि यसको सिको गर्नुहोला, सकारात्मक सन्देश पनि जाला भनेर आफूले कार्यकक्षलाई स्थानीय मौलिकतामा बनाएको बताउनु भयो ।
अहिलेको समयमा हामी चाहिँ कस्तो भइयो भने देख्दा राम्रो, खाँदा मिठो भएपछि पुग्ने भइयो, जसले गर्दा अब हामीले आर्थिक रूपमा पनि स्थानीय स्रोत र साधनलाई उपयोग गर्न सकिएन भने त हामीले नारा मात्र बनाएको ठहर्छ भन्ने निष्कर्षका साथ आफूले यो सुरुवात गरेको अध्यक्षले दाबी गर्नुभयो । विदेशबाट आयातित सोफा बिछ्याएर देश धनी नहुने उल्लेख गर्नुहुँदै अध्यक्ष विष्टले देशलाई सबैले कङ्गाल भयो भन्ने गरेको तर कङ्गाल के कारणले भयो भनेर कसैले कहिल्यै खोजी नगरेको बताउनु भयो । हरेक सरकारी कार्यालयहरूमा जाने हो भने केही न केही एक डेढ लाख, दुई तीन लाखका सोफाहरू बिछ्याइएको पाउने र हामी हरेक नेपालीको घरमा जाँदा पनि केही नभएको पचास साठी हजारदेखि एक लाखसम्म पर्ने सोफा घरमा राख्ने गरिएको उल्लेख गर्दै अध्यक्ष विष्टले भन्नुभयो : ‘ती सामग्रीहरू कमसेकम आफ्नै देशमा बनाउन सकिन्छ भने कमसेकम विदेशी सामान ल्याउन रोकौँ न त भनेर त्यसको सुरुवात एउटा न एउटाले गर्नै परो भनेर हामीले सुरुवात गरेका छौँ ।’
भुईँ तलामै कार्यकक्ष, जुत्ताचम्पल खोल्नु नपर्ने
पालिका कार्यालय परिसरमा पस्ने बित्तिकै भुँईं तलामा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष भेटिन्छ भने भवनको बीच तलामा विभिन्न शाखाहरूको सेवा प्रवाह हुने गरेको छ । उहाँले आम नागरिकको प्रत्यक्ष पहुँच पुगोस् भनेर आफूले अघिल्लो कार्यकालमा सबैभन्दा माथिल्लो तलामा रहेको अध्यक्षको कार्यकक्ष माथिबाट भुईँ तलामा सारेको बताउनु भयो । जनताले कार्यालय आउँदा पहिले अध्यक्षलाई भेट्न पाउनु पर्छ भन्ने आफ्नो धारणा रहेको छ । उहाँले आफु निर्वाचित भएको स्थानीय गाउँपालिकाको कार्यालयका कुनै पनि फाँटमा प्रवेश गर्न सेवाग्राहीले जुत्ताचप्पल खोल्नु नपर्ने बताउनु भयो । टाढाटाढाबाट आउने सेवाग्राहीले जुत्ताचप्पल खोलेर भित्र पस्नु पर्दा सेवाग्राहीहरू सम्बन्धित व्यक्तिलाई नभेटी फर्कनुपर्ने अवस्था नआउन जुत्ताचप्पल खोल्नु पर्ने व्यवस्था नराखिएको पनि अध्यक्षले बताउनु भयो ।
राजधानी ल्याउन चौताराबाट सेवा दिने प्रतिबद्धता
लुम्बिनी प्रदेश राजधानी राप्ती गाउँपालिकामा सार्न आफूहरूले मुख्यमन्त्री समक्ष वडा कार्यालयहरूको भौतिक संरचना मन्त्रालयलाई दिएर आफूहरू चौताराबाट सेवा दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्नुभयो । उहाँले प्रत्येक वडा कार्यालयहरू मन्त्रालयहरूलाई दिएको बताउनु हुँदै आफूले अघिल्लो कार्यालयमा अध्यक्ष बस्ने माथिल्लो तला पर्यटन, उद्योग र यातायात मन्त्रालय र मन्त्रीलाई दिएको बताउनु भयो । वडा नं. १ मा कृषि मन्त्रालय, वडा नं. २ को कार्यालयमा सभामुखको निवास, वडा नं. ३ मा गाउँपालिका, स्वास्थ्य मन्त्रालय वडा नं. ५ मा दिइएको उहाँले बताउनु भयो ।
गाउँपालिकाका विभिन्न वडाहरू भने भाडामा बसेर सेवा दिइरहेको र प्रदेश राजधानी ल्याउन आफूहरूले हिम्मतका साथ अहम् भूमिका खेलेको अध्यक्ष विष्टको भनाइ थियो । आफूहरू निर्वाचित भएर आएसँगै राजधानी बुटवलबाट दाङको देउखुरीस्थित राप्ती उपत्यकामा सारिएको पनि उहाँले जानकारी दिनुभयो ।