मकवानपुर, ३१ जेठ । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित डाइभरडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
वीरगञ्जबाट-हेटौँडातर्फ आउँदै गरेको ना५ख २९७० नम्बरको बसको ‘ब्रेकफेल’ भई पूर्व-पश्चिम राजमार्गमा सोही दिशातर्फ गइरहेको ना८ख ४४० नम्बरको ट्याङ्करलाई पछाडिबाट ठक्कर दिनुका साथै विपरीत दिशाबाट आइरहेको ‘अनटेस्ट’ कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा बसमा सवार चार र कारमा सवार छ जना घाइते भएका हुन् । घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बसको ब्रेकफेल भई नियन्त्रण गुमाउँदा दुर्घटनास्थलभन्दा करिब १०० मिटरअघि एउटा रूखमा ठोक्किएर रोकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।