बिहीबार ०१ साउन, २०८२

नेपाली समय

'नेपाललाई न राजतन्त्र, न दल/नेतातन्त्र, नागरिकतन्त्र चाहिएको छ':  नागरिक अभियान

'नेपाललाई न राजतन्त्र, न दल/नेतातन्त्र, नागरिकतन्त्र चाहिएको छ':  नागरिक अभियान

ललितपुर, ३० जेठ । नागरिक प्रथमको समिक्षा तथा कार्ययोजना बैठक ललितपुरको चुम्लुङ भवनमा सुरु भएको छ । बैठकमा देशका अधिकांश जिल्लाहरूबाट सहभागिता जनाएका छन् । उक्त बैठकमा ११ वटा एजेण्डाहरुमा छलफल हुने र सो एजेण्डाहरु देशका लागि महत्त्वपूर्ण हुने आँकलनका साथ बैठक जारी रहको र बैठक भोली शनिबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बैठकमा नागरिक प्रथमका अभियन्ता डम्बर खतिवडा, प्रशान्त सिंह, अशोक श्रेष्ठ, केशव दाहाल, मुमाराम खनाल, भूपेन्द्र नेम्वाङ, एल.वि. पराजुली, जावेद एकवाल हैदर, राजेन्द्र विद्रोही, गोविन्द गुप्ता लगायतले सहभागिता जनाउनु भएको छ ।

बैठक राष्ट्रिय राजनीति, राजनीतिक घटनाक्रम, पार्टी निर्माणको रणनीतिक योजना, प्रस्तावित विधानका आधारभूत प्रस्तावना, नागरिकतन्त्रको उद्घोष, आन्दोलन र जनपरिचालन योजना, राजनीतिक सहकार्यका सम्भावनाको विश्लेषण, आर्थिक कार्ययोजना लगायतमा बैठक केन्द्रित हुने आयोजकको भनाई छ ।

बैठकको शुभारम्भ गर्दै अभियानका अभियन्ता डम्बर खतिवडाले राज्य हदै सम्म गैर जिम्वेवार बनेको, नागरिक प्रति उत्तरदायी नभएको, कुशासन र भ्रष्टाचार व्याप्त भएको कारणले पनि नेपालमा नागरिक अभियानको परिकल्पना गर्नु परेको बताउनु भयो ।

साथै नागरिक अभियान नै देशको समस्याहरू हल गर्न संवाहक बन्न सक्ने र नागरिकको अभियानका अभियन्ताहरूले नागरिकका हक अधिकारलाई सहि रूपमा स्थापित गर्न लागि पर्नु पर्ने बताउनु भयो । नागरिक अभियान दलमा परिणत नभईसकेको र उन्नाइस महिना सम्म नागरिक अभियानले नागरिक सचेतनाको रूपमा अभियान सञ्चालन गरिरहेको बताउनु भयो । यो अभियानले राजनीतिक रूपान्तरणमा सहयोगी भूमिका रहेको बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्दै खतिवडाले भन्नु भयो, "यो बैठकमा स्वतन्त्र र गैरदलीय अभियानलाई राष्ट्रिय चुनावहरूमा भाग लिने की नलिने, आर्थिक कार्ययोजना तथा पारदर्शिता, नेपालमा नयाँ पार्टीको अवश्यक्ताबारे, विधान निर्माण आदीमा बैठक केन्द्रित हुने छ । नागरिक अभियानका अभियान्ताहरुमा डि.एन.ए. र जिनमै आर्थिक पारदर्शिता हुनु आवश्यक छ तकी अभियान्ताहरु कोही पनि भ्रष्टाचारी नबनुन् र आर्थिक अनुशासनलाई पालना गर्न सक्षम हुन् । जसले देश र नागरिकलाई समृद्ध बनाउने हाम्रो परिकल्पना साकार होस् ।"

उहाँले भन्नुभयो, "हामी कुनै राजा तन्त्र, दल तन्त्र, नेता तन्त्र, पुराना दलको सिन्डिकेट, बेथिति, कुशासन, भ्रष्टाचारको पक्षमा छैनौँ, हाम्रो लक्ष्य एउटै छ, त्यो हो देश र नागरिक समृद्ध हुनु पर्‍यो । हामी नागरिकतन्त्रको पक्षमा छौँ ।" देशको दुर्गम ठाउँहरूबाट हप्तौँको समय र पैसा खर्च गरेर बैठकमा सहभागिता जनाउन आउनु भएको भन्दै सहभागीहरूलाई धन्यवाद र कृतज्ञता जनाउनु भयो ।

सहभागीहरूले देश कठिन अवस्थामा गुज्रिरहेको र देशको यो हालत बनाउन मुख्य भूमिका अहिले शासन सत्ता हाकी रहेका दल, राजनीतिक पार्टीहरू भएकाले देशको यावत् समस्या यथाशीघ्र समाधानमा नागरिक पहिलो अभियान अग्रसर भएर लाग्नु पर्ने धारणा राखेका छन् । त्यसैगरी कतिपय जिल्लाहरुक स्थानीय स्तरमा सङ्गठन निर्माण गरिसकेको, यस्ता अभियान समूहहरूले स्थानीय स्तरको भ्रष्टाचार, बेथिति र सामाजिक बेतिथिहरूलाई हटाउन अभियान नै सञ्चालन गरेको बताए । साथै नागरिक अभियानका अभियान्ताहरुले सामूहिक र व्यक्तिगत रूपमा नागरिक चेतनात्मक कार्यक्रम सञ्चालन गरी रहेको बताए ।

नागरिक अभियानको बैठकमा विभिन्न जिल्लाहरूबाट सहभागिता जनाएका सहभागीहरूले दुईदिन सम्म आफ्नो धारणाहरू राख्ने क्रम जारी रहेको र समापनको दिन भोली शनिबार अभियानको गतिविधि तथा आगामी कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ ।