बिहीबार ०१ साउन, २०८२

नेपाली समय

किसानको हितमा परोहा नगरपालिका सधैँ एक कदम अगाडि, २० लाख महसुल चेकमार्फत भुक्तानी

किसानको हितमा परोहा नगरपालिका सधैँ एक कदम अगाडि, २० लाख महसुल चेकमार्फत भुक्तानी

रौतहट, ३० जेठ । मधेश प्रदेशमा आफ्नो विशिष्ट विकास गतिविधिबाट पहिचान बनाउन सफल देखिएको परोहा नगरपालिका हाल जिल्ला भरिका १८ स्थानीय तहहरूमध्ये प्रशासनिक र विकास कार्यमा उल्लेखनीय गति लिँदै अगाडि बढिरहेको छ। परोहा नगरपालिकाले किसानहरूको हितमा अर्को महत्त्वपूर्ण कदम चालेको हो। नगरपालिकाभित्र रहेका कृषि सिँचाइ मिटर प्रयोगकर्ता किसानहरूको बक्यौता विद्युत महसुल आर्थिक वर्ष २०८१/८२ को भुक्तानी नेपाल विद्युत प्राधिकरण, गौर वितरण शाखालाई चेकमार्फत हस्तान्तरण गरिएको हो।

नगर क्षेत्रभित्रका करिब १ हजार घरधुरीलाई समेट्नेगरी, किसानहरूद्वारा प्रयोग गरिएको कृषि सिँचाइ मिटरको विद्युत महसुल अन्तर्गत यस आर्थिक वर्षमा जम्मा २० लाख रुपैयाँ नगरपालिकाबाट भुक्तानी गरिएको हो। यस कदमले परोहा नगरपालिकाले किसानप्रतिको उत्तरदायित्वलाई प्रस्ट पार्नुका साथै, कृषिमा आत्मनिर्भरता र प्रोत्साहनको दिशामा एक सकारात्मक उदाहरण पेस गरेको देखिन्छ।

परोहा नगरपालिका दोस्रो कार्यकालका लागि निर्वाचित नगरप्रमुख शेख वकिलको नेतृत्वमा क्रमशः योजनाबद्ध विकासको मार्गमा अघि बढिरहेको हो। उनले पहिलोपटक २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा विजयी हुँदै नगर प्रमुख बनेका थिए। त्यतिबेला नगरपालिकाको अवस्था अत्यन्त अव्यवस्थित, संरचनाहीन र चुनौतीपूर्ण रहेको थियो। भौतिक पूर्वाधारको निर्माण, कार्यालयको स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका जटिल कार्यहरू उनले सफलतापूर्वक सम्पन्न गरेका थिए।

जिल्लाको क्षेत्र नं. २, जहाँ परोहा नगरपालिका अवस्थित छ, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा ढल व्यवस्थापनजस्ता आधारभूत सेवाहरूको हिसाबले देशको अन्य क्षेत्रहरूभन्दा निकै पछाडि रहेको हो। यस्तो क्षेत्रको नेतृत्व गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो। तर वकिलले ती सबै चुनौतीहरूलाई सामना गर्दै पुनः जनताको समर्थन हासिल गर्न सफल भएका छन्। उनको नेतृत्वमा स्थानीय शासनमा स्थायित्व, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरू बताउँछन्। विशेषतः कृषि क्षेत्रमा उनले अगाडि सारेका केही पहलहरू स्थानीय किसानहरूका लागि उत्साहजनक साबित भएका छन्।

कृषकहरूलाई आकर्षित गर्न परोहा नगरपालिकाले चालु वर्षदेखि विद्युत महसुल आफ्नै तर्फबाट व्यहोर्ने निर्णय गरेको छ, जुन व्यापक रूपमा प्रशंसा गरिएको कदम हो। खेत–खेतमा कृषि विद्युत पोल, तार र मिटरको व्यवस्था गर्दै विद्युत महसुल पालिकाले तिर्न थालेको छ। साथै, गण्डक नहरबाट आउने पानीलाई साना नहरमार्फत किसानको खेतसम्म पुर्‍याउने प्रयास पनि तीव्र पारिएको हो। विगतमा खेतीयोग्य जमिन हुँदाहुँदै पनि समयमा सिँचाइ, मल तथा बीउको अभावले कृषकहरू खेतीतर्फ आकर्षित थिएनन्। तर अहिले नगरपालिकाले कृषि क्षेत्रमा प्रदान गरेका विभिन्न सुविधा तथा सहुलियतहरूले कृषकहरूमा नयाँ उत्साह देखिएको हो।

मेयर वकिलको नेतृत्वमा परोहा नगरपालिका अब विकासको नमूनाका रूपमा स्थापित हुँदै गएको अनुभूति नगरवासीहरू गर्दैछन्। उनको दृढ इच्छाशक्ति, दूरदृष्टियुक्त योजना र जनउत्तरदायी शैलीले परोहा नगरपालिकालाई समुन्नत नगरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको हो।