कीर्तिपुर, २८ जेठ । त्रिवि सेवामा प्रवेश गरेको नौ वर्ष पूरा गरी दशौं वर्ष लागेको अवसरमा त्रिवि अधिकृत ब्याच २०७३ ले एक दशकको अनुभव आदानप्रदान गर्दै एक कार्यक्रमका बीच त्रिविको वातावरण विज्ञान केन्द्रीय कार्यालय परिसरमा सरसफाइ गर्दै जव (Job) एनिभर्सरी मनाएको छ । विभागीय प्रमुख प्रा.डा. उद्धव बहादुर खड्कासँगको समन्वय र लेखा अधिकृत शोभा सेढाईंको संयोजकत्वमा सो सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् विभागीय प्रमुख प्रा.डा. खड्काले वातावरण केन्द्रीय विभागमा आएर सरसफाइ अभियानमा सहभागी हुनुभएकोमा खुशी व्यक्त गर्दै यो विभागसँग अधिकृत समूहको आत्मीयता सधैँ रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले कर्मचारीहरूको क्षमता विश्वविद्यालयले पहिचान गरी उचित स्थानमा उपयोग गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले त्रिविमा अधिकृत स्तरमा सेवा प्रवेशको समूहगत पहिचान बनाउन सुझाव दिनुहुँदै भविष्यमा थप रचनात्मक कार्य गर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियो ।
यसैगरी यही अधिकृत ब्याच २०७३ बाट कर्मचारी सङ्घको नेतृत्व गरिरहनु भएका कर्मचारी सङ्घ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्कीले यो समूहले त्रिविको प्रशासन सुधारमा उल्लेखनीय प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले आवश्यक परेमा यो समूहले त्रिविभित्रको जस्तो सुकै समस्यारुपी फोहोरलाई उठाएर बोरामा हाल्न र विश्वविश्वालयलाई स्वच्छ, सफा र भ्रष्टाचाररहित उच्च शिक्षाको धरोहर बनाई राख्न योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयका हरेक प्रशासनिक समस्या समाधानमा विश्वविद्यालय नेतृत्वले कर्मचारी सङ्घसँग छलफल र संवाद गरेर मात्र समस्या समाधान गर्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौ उपत्यकाभित्र केन्द्रीय कार्यालय, डिनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, विभाग, क्याम्पस लगायत निकायहरूमा प्रशासन, लेखा र पुस्तकालय शाखाहरूमा कार्यरत २०७३ सालको ब्याचका डेढ दर्जन अधिकृत स्तरका कर्मचारीहरूको सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा विभागका विद्यार्थीहरू, प्राध्यापक र कर्मचारीहरू समेत गरी करिब ४० जनाको सहभागिता रहेको लेखा अधिकृत सेढाईंले जानकारी दिनुभयो । कार्यक्रममा त्रिवि महाराजगञ्ज क्याम्पसका लेखा अधिकृत सनदकुमार दाहाल, चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयका शाखा अधिकृत सम्झना बख्रेल र पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत नोदनाथ त्रितालले अनलाइन प्रविधिबाट सहभागिता जनाउनु भएको थियो ।
त्रिवि अधिकृत ब्याच २०७३ ले हरेक वर्ष नियुक्ति पत्र प्राप्त गरेको मितिलाई जब एनिभर्सरीको रूपमा रचनात्मक कार्यक्रम गर्दै मनाउँदै आएको छ । गत वर्ष त्रिवि केन्द्रीय पुस्तकालयमा अन्तरक्रिया कार्यक्रम गरी नवौँ वार्षिकोत्सव मनाएको यो समूहले अघिल्लो वर्ष आठौँ वार्षिकोत्सवको अवसरमा त्रिवि आयुर्वेद क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गरेको थियो ।