आइतबार ०१ असार, २०८२

नेपाली समय

कृषकका लागि वडामै बाली उपचार शिविर

कृषकका लागि वडामै बाली उपचार शिविर

भोजपुर, २४ जेठ । कृषि बालीमा देखिने समस्या समाधानका लागि भोजपुर नगरपालिका वडा नम्बर पाँच, बोखिममा बाली उपचार शिविर सञ्चालन गरिएको छ । 

कृषि ज्ञान केन्द्र भोजपुरको आयोजना शुक्रवार बोखिममा एक दिने बाली उपचार शिविर सञ्चालन गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । कृषकले लगाएका विभिन्न किसिमका तरकारी बालीमा देखिने समस्याहरूले हैरान बनाएको अवस्थामा कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको शिविरले राहत मिलेको वडाध्यक्ष प्रधानको भनाई रहेको छ । 

शिविरमा कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत मुकेश यादवले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदा लगायत कृषिसँग सम्बन्धित विविध विषयमा वडाका कृषकहरूलाई जानकारी सहित सहजीकरण गर्नु भएको थियो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई पनि न्यूनीकरण गर्नु पर्ने प्रमुख यादवले बताउनुभयो । 

समस्याले कृषक मारमा परेको अवस्थामा ज्ञान केन्द्रले बाली उपचार शिविर सञ्चालन गरेपछि आफूहरूमा पनि राहत मिलेको कृषकहरूको धारणा छ । कार्यक्रममा विभिन्न औषधी बितरण गरिएको थियो भने शिविरबाट डेढ सय बढी कृषक लाभान्वित भएका छन् ।