थालनी
दुनियाँ भरिका दार्शनिक तथा राजनीतिज्ञहरू राजनीति सिधा सरल रेखाबाट सहज नगुज्रने बताउँछन् । राजनीतिको आरोह अवरोह, उकाली ओराली बाङ्गा टेढा चाललाई नपचाउने शक्तिले राजनीतिको महा अभियानमा सामान्य चासो राख्न सक्छ । तर यसको सार्थक पट्टाच्छेप गर्न सम्भव छैन । यद्यपि परिवर्तनकारी राजनीतिको लागि हरेक तह तप्का, स्तर र सोचाईका मान्छेहरूको सकारात्मक सदुपयोग अनिवार्य छ । किनकि लोकतान्त्रिक संस्कृतिले हरेकलाई सत्कार गर्न सिकाउँछ, तिरस्कार होइन । यदि सत्कारयोग्य नभएमा लोकतन्त्रले आफूले आफैलाई सच्याउने, आपसी सहकार्यमार्फत एकले अर्कालाई सच्चयाउने संस्कार समेत सिकाउँछ ।
यही परिवेशमा नेपाली राजनीति पञ्चायतको तीस वर्ष, बहुदलको पन्ध्रवर्ष र गणतन्त्रको करिब दुई दशक रुमल्लिन पुगेको छ । लामो यात्रा, पवित्र उद्देश्य, महान् गन्तव्यमा पुग्न वैज्ञानिक चेतना, सिद्धान्त, राजनीति र कार्यदिशा बोकेको पार्टी नेता र कुशल कार्यकर्ताहरूको पङ्क्ति र न्यायप्रेमी जनसमुदायको विशाल पङ्क्तिले मात्र सक्छ । नत्र मियोमा बाँधिएको गोरुको पछि जति कुदेपनि राजनीतिक निकास पाउन सकिन्न किनकि जिरो माइलको यात्राले गन्तव्य नभेटिए जस्तै भइरहेको छ । यसको सार्थक उपचार के हो ? के गर्दा देश र जनतालाई सकारात्मक सन्देश र देश र जनताप्रति सकारात्मक उर्जा प्रदान गर्न सकिन्छ ? भन्ने विषयमा थोरै छलफल चलाउनु यो संक्षिप्त आलेखको अभीष्ट हो ।
पक्षधरताको महत्त्व
राजनीतिमा क्रान्तिकारी शक्ति हाबी हुँदा जनमुखी नवनिर्माणले तीव्रता पाउँछ । मौलिक सिर्जनाले अवसर पाउँछ । जनसरोकारका मूल्य मान्यताहरूले सहज र सरलता पाउँछ । देश र जनताले विकाश निर्माणमा अपनत्व अनुभूत गर्छन् । प्रतिकृयावादी र पुनर्उत्थानवादी हाबी हुँदा विकाश निर्माणको दिशा जनमुखी नबनी दलाल माफिया र तस्करमुखी बन्नजान्छ । फलतः विकाश निर्माणमा जनताले अपनत्व गुमाउन पुग्छ र मनोबल गिर्छ । भएका विकाश निर्माणले पनि देशको भलो, जनताको भलो गर्दैन स्थानीय पैदावार र श्रोत साधनको उन्नति र प्रगतिमा भूमिका निर्वाह गर्दैन ।
उदाहरणको लागि प्रचण्डको पहिलो सरकारको पालामा इतिहासको रेकर्ड ब्रेक गर्नेगरि राजस्व उठायो, प्रचण्डको सरकार ढल्नेवित्तिकै ३५००० मा सहमति गरेर रकम बाँडेर सके । दोश्रो कार्यकालमा लोडसेडिङ अन्त गरिदिए, सरकार ढल्नेवित्तिकै एमालेकै नेतृत्वमा बनेको सरकारले बिजुलीजन्य सवैप्रकारका सामाग्रीमा ८० प्रतिशत कर बढाएर माफिया पोसे । तेस्रो कार्यकालमा भ्रष्टाचारी धमाधम समातिन थालेपछि सरकार ढलाएर भ्रष्टाचार निवारणमा लाग्ने हरेक अधिकृतहरूको सरुवा तथा कार्यवाहीको सिकार बनाए । बालेन, हर्क, रवी लगायत राम्रा जति सबैलाई दुःख दिइरहे, भ्रष्ट, तस्कर माफिया जति सबैले उन्मुक्त जीवन जिइरहे । यस्ता उदाहरण न्यूनतम १००० को संख्यामा भन्न सकिन्छ जसले नेपाली समाजलाई अगाडी बढाउने सामर्थ्य राख्थ्यो, जसलाई एमाले काँग्रेसले उल्टाएर फेरी पछाडि धकेल्यो ।
अवसरवादी तथा यथास्थितिवादीहरूले राजनीतिलाई देश दुनियाँ निर्माण गर्ने महाअभियानको रूपमा बुझ्दैनन् । उनीहरू राजनीतिलाई आफू सत्तामा पुग्ने माध्यम वा आफू र आफ्ना आसेपासेको राज्यदोहन गर्ने माध्यम सम्झन्छन् । त्यसैले क्रान्तिकारी हाबी हुँदा क्रान्तिकारीकै वरिपरि र प्रतिक्रान्तिकारी हाबी हुँदा उनीहरूकै वरिपरि परिक्रमा गरी राजनीतिको रोटी सेक्छन् । यथास्थितिवादीहरू आफ्नो अवसरवादीता लुकाउन “क्रान्तिकारी र प्रतिक्रान्तिकारी उस्तै उस्तै हो !” भन्ने भाष्य निर्माण गर्न रणनीति र कार्यनीतिलाई छ्यासमिस गरेर नागरिकलाई दुविधामा पारिदिन्छन् ।
जनमतले भोगाएको बाध्यता
२००७ सालदेखि यहाँसम्मका हरेक आन्दोलनहरू सफलतामा नटुङ्गिई केवल सम्झौतामा टुङ्गिएको छ । जसको कारणले अनेकौँ बेलामा सहकार्य र सङ्घर्ष गर्नुपर्ने परिस्थितिजन्य बाध्यता नेपाली राजनीतिले भोग्दै आएको छ । जसलाई आधार बनाएर अवसरवादी तथा यथास्थितिवादीहरूले काँग्रेस एमाले र माओवादीले पटक पटक सहकार्य गर्न मिल्ने हामिले किन नमिल्ने ? भन्दै अग्रगामी कार्यदिशालाई विषयान्तर बनाइरहेका छन् । उनीहरू आफूmलाई थोरै नाफा हुने अवस्थामा जस्तोसुकै प्रतिगामी मोर्चाहरूमा समेत आफूmलाई समाहित गराउँछन् । तर क्रान्तिकारीहरूले नेतृत्व गरेको मोर्चाले देशलाई अग्रगति दिने र प्रतिकृयावादीहरूले नेतृत्व गरेको मोर्चाले प्रतिगामी कार्य गर्दै देश र जनताले प्राप्त गरेको उपलब्धि क्रमशः गुम्ने तथ्य नियतवश लुकाउँछन् ।
क्रान्तिकारी शक्ति सत्तामा हाबी हुँदा अर्थचक्र सकारात्मक बन्छ र राष्ट्रिय पूँजीले न्याय पाउँछ । प्रतिकृयावादी शक्ति सत्तामा हाबी हुँदा दलाल पूँजी शक्तिशाली बन्छ, त्यसले रोजगारी सिर्जना, स्थानीय पैदावारको खपत, अर्थचक्रको परिचालनमा सुस्तता आउने र रिक्त स्थान दलाल पूँजीले लिने गर्छ । यही प्रकृयावाट लामो समय देश गुज्रनुपर्दाको परिणाम नै राष्ट्रिय पूँजी पलायन र अल्पविकाश हो । थोरै समय क्रान्तिकारीहरूले सरकार पाउने, सामथ्यले भ्याएसम्म जनपक्षीय निर्णय गर्ने, र लामो समय प्रतिकृयावादीहरूले भत्काउने ! अनि अवसरवादीहरू “एकै ड्याङका मूला हुन् !” भन्दै चोक चौतारो तताउने । राजनीतिक उदासीनता, युवाहरूमा व्याप्त निराशाको वास्तविक जीवनचक्र यही नै हो ।
असन्तुष्टिको उद्गम
राष्ट्रिय पूँजी पलायन, युवाहरूमा पलाएको राजनीतिक उदासीनता र विदेश पलायन, स्वदेशी तथा वैदेशिक पूँजी लगानीमा आएको ह्रासको कारणले रोजगारी सिर्जनामा बाधा पुगेको साँचो हो । पूँजी लगानीमा नीतिगत स्थिरता नआउँदा स्थिर उद्योग कलकारखाना नखुल्नाले स्थानीय पैदावार खपत नभएको साँचो हो । सरकारी नीति र योजनाहरूमा राजनीतिक प्रतिबद्धता नहुँदा लगानीकर्ता र श्रमदातामा स्वदेशी कमाइप्रति आत्मविश्वास जाग्न नसकेको पनि साँचो हो । तर यसलाई सकारात्मक आलोचना गर्दै समाधानको दिशामा उठाउनु तमाम बुद्धिजीवी र विविध तह तप्काको नैतिक दायित्व हो । जो सरोकारवाला निकायबाट हालसम्म भएको पाइएन ।
नेपाली बुद्धिजीवी भनिने समुदायको एउटा चारित्रिक विषेशता सकारात्मकता भन्दा बढी नकारात्मकता बेचेर लोकपृयता कमाउने भूत सवार भएको छ । उनीहरू नीति नेतृत्व, शासन प्रशासनमा, जहाँ समस्या छ, त्यहाँ समाधान हेतु आलोचना गर्दैनन् । तालि वा गालिको आधारमा एकमुष्ठ गणतन्त्रलाई दोष दिइरहन्छन् । सडक, सदनमा मात्र होइन चोक चौतारी जहाँसुकै छेउ टुप्पा गाँसेर विना प्रमाण विना तथ्य लोकतन्त्रले सबै बिगारेको, देश बेचेको, संस्कृति मासेको, धर्म बेचेको भनिटोपल्छन् । जहाँ समस्या छ त्यहाँ, जसले अवरोध सिर्जना गरेका छन् त्यसलाई विना पूर्वाग्रह आलोचना गर्दै देशलाई सकारात्मक योगदान दिनुको बदला अगाडी देखेका नेता कार्यकर्ता, शासक प्रशासक, उद्योग व्यवसायी, मजदुर किसान देखेजति “सबै खराब !” भन्दै आशावादको सबै ढोका बन्दा गर्न तम्सन्छन् ।
विश्लेषणको दिशा
अचेलका बुद्धिजीवीहरू आफ्नो कथित बौद्धिकता देखाउने नाममा आन्दोलनको मूल प्रवृत्तिलाई बेवास्ता गर्दै घटनाको टुक्रे विश्लेषण गर्छन् । समग्र हेर्दा अंश बिर्सने, अंश हेर्दा समग्र नदेख्ने, तल हेर्दा माथि बिर्सने माथि हेर्दा तल वास्ता नगर्ने जस्ता महारोगले ग्रसित केवल बुद्धिविलासमा रमाउने पात्रहरूलाई बुद्धिजीवी पुकार्नु हाम्रो दुर्दान्त बाध्यता हो । हद दर्जाको निम्न पूँजीवादी काँचो तर्क गर्नु पात्रको कमजोरीलाई व्यवस्थाको अपराधको रूपमा व्याख्या गर्नु, व्यवस्थाको कमजोरीलाई समाधानको दिशा नदिई भद्दा गालीगलौजद्वारा निराशा बेच्नु उनीहरूको दैनिकी बनेको छ ।
बुद्धिजीवी भनिएकाहरू आन्दोलनको प्रवृत्तिगत विश्लेषणमा नगरी व्यक्ति र पात्रको विश्लेषण गर्दै मूल विषयबाट विषयान्तर गर्ने, शक्तिको स्वार्थ मुताविक शोषक वर्गको ठूलो अपराधलाई सानो कमजोरीको रूपमा व्याख्या गर्नु, शोषित वर्गको सानो कमजोरीलाई महान् अपराधको रूपमा व्याख्या गर्दै नेपाली अर्थराजनीतिमा आएको र आउने गम्भीर घात प्रतिघातलाई अन्दाजविहीन बनाउन घुँडा धसेर लागिरहन्छन् ।
प्रतिकृयावादीहरूको सेवा चाकरीको निम्ति गरिएको यस्ता बुट्टेदार तर्कले आफ्नो स्थान सुरक्षित गर्न सके पनि देश र तमाम नागरिकहरूको भविष्य अन्धकारमय बन्ने तथ्य बिर्सन्छन् । यस्ता आफूमुखी स्वार्थकेन्द्रित तर्कले संक्रमणकाल लम्बिने र युवावर्गमा व्यापक निराशा मौलाउने हुँदै आएको छ ।
सत्यको घुम्टो
अधिकांश क्रान्तिकारीहरू निस्वार्थ हुन्छन्, अधिकांश प्रतिक्रान्तिकारीहरू स्वार्थी हुन्छन् । परिणामतः उनीहरूले जतिसुकै आफ्नो शोषण उत्पीडनमुखी अनुहारमा लिपापोति गरे पनि ढाँटेको कुरा काटेपनि मिल्दैन भनेझैँ स्वार्थकेन्द्रित अवसरवादीहरूको तर्कलाई क्रान्तिकारीहरूको सक्षम र व्यवहार कुशल नेतृत्वले क्रमशः चिर्दै लाने निश्चित छ । किनकि आजको जनता हिजोको जनता होइनन् उनीहरूको चेतना हिजोकै जस्तो गुलाम बन्न अभ्यस्त मनोबृत्तिवाट धेरै माथि उठिसकेको छ । त्यसैले आजका नागरिक हरेक विषयमा तुलना गर्न सिपालु भईसकेका छन् । भाडामा राखिएका स्वार्थकेन्द्रित तर्कशाली बुद्धिजीवीहरूको कुतर्कमा अल्झने अवस्था अवश्य आउने छैन ।
देशको अवस्था जस्तो रहे पनि आफ्नो अवस्था सुधार्न लाग्ने राजनीतिक नेतृत्वले दलाल माफिया तस्करको सेवा चाकरी नगरी सुख नपाउने, र एकाइसौं शताब्दीका जनताले एउटा आँखाले होइन हजार आँखाले उनको नाङ्गोपना नदेखी छोड्दैनन् । सत्य लुकाउँदा देश र जनताले दुख पाउँछ भने सर्वसाधारण जनताले सत्य किन लुकाउने ? र सत्य लुकाउँदै आफ्नो सन्तान दरसन्तानको भकारी भर्दै आएका लुते बुद्धिजीवीहरूको कुतर्कको समर्थन किन गर्छन् ? जसको कारणले यथास्थितिवादी कमजोर र पुनर्उत्थानवादी झन् कमजोर हुन्छन् ।
परिणाम
देश र दुनियाँमाथि ढाँट छल गर्दै लूट धन्दा गर्दै आएका प्रतिगामी तत्त्वहरू हिजोको निर्धो समाज आज न्यूनतम् आफ्नो अधिकारको पैरवी गर्न सक्ने क्षमता हासिल गरिसकेको छ । टनकपुर, महाकाली लगायतका असमान सन्धिहरू गर्दा राष्ट्रघात भयो भन्न जान्दैनथे, हाल साना साना कुरामा राष्ट्रियताको सवालसँग जोड्न जानिसकेका छन् । हिजो जातीय असमानता र विभेदको जस्तोसुकै अपमानजन्य व्यवहार भएपनि कर्मको फल भन्दै आँसु पिउँदै विभेद स्विकार्थे हाल संविधानको धारा धारा पल्टाउँदै समानताको आवाज उठाउन जानिसकेका छन् । हिजो सामन्त नोकरशाहहरूलाई राजा र राजपरिवारले मनमौजी राष्ट्रिय सम्पत्ति मनखुसी बाँड्थे, कसैले बोल्न सक्दैनथे तर हाल सार्वजनिक पर्ति समेत नागरिक समाज आफै जोगाउन जानिसकेका छन् ।
राम्रो बाहेक केहि नगर्ने माओवादी र नराम्रो बाहेक केहि नगर्ने एमाले काँग्रेस बिचको ग्रेटवाल हेर्ने आँखामा हिजोको जस्तो रङ्गिन पट्टी हट्दै गयो । सामाजिक चेतनामा आएको यो आमूल परिवर्तनलाई धमिलो बनाउन करिब दर्जन जति बुद्धिजीवी भनिने मानिसहरू कम्मर कसेर लागिरहेका देखिन्छन् । तर जनताको नाङ्गो आँखाले देखेको सत्यलाई छोपेर आफ्नै भावी पुस्ता र सन्ततिको भविष्यमाथि खेलवाड गर्नेहरूको सात पुस्ते कुण्डली निकाल्ने नयाँ सक्षम युवाहरू तयार भइसकेका छन् । जसको कारणले हरेक नागरिक आआफ्नो ठाउँबाट सत्य बोल्ने बानी विस्तार हुँदैछ । कुनै फूलवुट्टा भरेको बनावटी तर्क गरेर असत्यलाई संस्थागत गर्ने कुपात्रहरूको कालो स्वार्थ क्रमशः बुझ्न थालेका छन् । आफूले देखेको नाङ्गो सत्यलाई जस्ताका तस्तै ब्यक्त गर्दै देश र जनताको भविष्य सुनिश्चित गर्ने हिम्मत निकालिसकेका छन् । यसको निम्ति लेखक पत्रकार, सामाजिक बुद्धिजीवीहरूले विना पूर्वाग्रह सत्य साँचो बोल्ने हिम्मत गर्नेछन् । डाक्टर वकिल, कर्मचारी लगायत अन्य तह र तप्काका राष्ट्रका कर्णधारहरूले आ–आफ्नो मोर्चा सम्हाल्नुपर्छ । यसरी देशको भविष्य जोगाउन आगामी निर्वाचनमा पराजित गरेर समुन्नत, स्वाधीन र सम्पन्न बनाउने सङ्कल्प पूरा हुनेछ ।
अस्तु
२०८२–०२–२२ गते
- श्रीराम खाईजु
(भक्तपुर)
(लेखक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य हुनुहुन्छ।)
(प्रकाशित लेख: लेखकको निजी विचार हो। )