आइतबार ०१ असार, २०८२

नेपाली समय

भोजपुरमा मावि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना

भोजपुरमा मावि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना

भोजपुर, २० जेठ । विद्यार्थीहरुको प्रतिभा पहिचान गर्दे उनीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ ‘अखिल आइकन २०८२’ भोजपुर जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । ‘भोजपुरको शिक्षाको अवस्था ः चुनौती र सुधारका उपायहरू’ विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी भोजपुरको आयोजनामा आगामी जेठ ३० गते जिल्ला सदरमुकाममा मावि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा अनेरास्वबियू जिल्ला कमिटी अध्यक्ष प्रकाश सिं राईले जानकारी दिनुभयो । एसईइ परीक्षाको नतिजा समेत विद्यालयको खस्कँदै गएको अवस्थामा शैक्षिक सुधारका उपायहरू अवलम्बन गर्नका लागि पनि वक्तृत्वकलाले सहयोग गर्ने अध्यक्ष राईको भनाई छ । 

प्रतियोगितामा सहभागिताका लागि जिल्लाका ७४ वटा माध्यमिक विद्यार्थीहरुलाई परिपत्र गरिएको र एक विद्यालयबाट पाँच विद्यार्थी सहभागी हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार र सात हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन । 

विगत देखि नै सङ्गठनले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दे आई रहेकाले ‘अखिल आइकन’ लाई निरन्तरता दिँदै पुरस्कार अक्षयकोषका लागि पनि सबैलाई आह्वान गरिएको अध्यक्ष राईले बताउनुभयो ।