काठमाडौँ, १९ जेठ । त्रिविबाट निवृत्त सहप्राध्यापक एवम् शिष्टाचार अभियान नेपालका सचिव कवि मुकुन्दराज दाहालको कवितासंग्रह ‘दीपमालिका’ एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
काठमाडौंमा भेला भएका साहित्यकारहरूले मुकुन्दराज दाहालको ‘मेडन’ कवितासंग्रह ‘दीपमालिका’ उम्दा कृति भएको निष्कर्षसहित साहित्य साधनालाई निरन्तरता दिन उहाँलाई आग्रह गर्नुभएको छ । निक्कै लामो समयदेखि साहित्य सिर्जनामा लागे पनि कृति प्रकाशनमा निक्कै ढिलाई गर्नुभएको भन्दै साहित्यकारहरूले कवित्व चेतले ओतप्रोत दाहाललाई शीघ्र अर्को कृति प्रकाशनमा लाग्न समेत उत्प्रेरित गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहालले सम्पत्ति भन्दा सिर्जना ठूलो कुरा भएको र सर्जक समाजमा कहिल्यै नमर्ने, सिर्जना सधैँ बाँचिरहने बताउनु भयो । उहाँले स्रष्टाहरु राष्ट्रको स्पन्दन भएको धारणा व्यक्त गर्नुभयो । 'हामी स्रष्टाहरुलाई गहना भन्छौँ तर त्यसो होइन, स्रष्टाहरु स्पन्दन हुन्,' दाहालले भन्नुभयो, 'स्पन्दनमा सास फेर्ने प्रयत्न गर्नुभएकोमा मुकुन्द दाइलाई बधाई ।’ प्रतिभा र सबै हिसाबले सामर्थ्यवान् दाइलाई कृति प्रकाशनमा घच्घच्याउने काममा बरिष्ठ कविहरू कलानिधि दाहाल र कृष्णप्रसाद भट्टराईसहित आफ्नो पनि हात रहेको समेत उहाँले बताउनुभयो ।
अर्का बरिष्ठ कवि कलानिधि दाहालले कविताहरू बेजोड रहेको बताउँदै साहित्य सिर्जनामा दाहालबाट निरन्तरताको अपेक्षा गर्नुभयो । यस्तै, समीक्षक द्वय डा। शैलेन्दुप्रकाश नेपाल तथा डा.अम्बिका अर्यालले पनि दाहालमा प्रशस्त सम्भावना हुँदाहुँदै कृति प्रकाशन गर्न ढिलाइ भएको बताउनुभयो । समीक्षक नेपालले दाहालले कृति प्रकाशनमा ढिलाइ भएकोमा रिस समेत उठेको बताउनुभयो भने अर्की समीक्षक अर्यालले ढिलै भएपनि उत्कृष्ट कृति आएको बताउनुभयो ।
पद्मकन्या क्याम्पसकी नेपाली विभाग प्रमुख अर्यालले भन्नुभयो,‘नेपाली साहित्यले कुरेर बसिरहेको कृति दीपमालिका भएको बताउनु भयो। उहाँले कृतिमा बरिष्ठ कवि कलानिधि दाहालले लेख्नुभएको भूमिकाको अंश सापटी लिनुभयो, ‘सानैदेखि कविता लेख्ने कवित्व चेत बोकेका मुकुन्दराज दाहाल बिचमा विभिन्न प्रलोभन नफसेको र परिस्थितिमा नअल्झिएको भए अहिले दाजु मुकुन्द साहित्यिक क्षेत्रको अझ कवितात्मक साहित्यको कुन कुर्सीमा बस्ने थिए अनुमान मात्र गर्न सकिन्छ ।’ अर्यालले कवि दाहाललाई मञ्चबाटै यस सम्बन्धमा जिज्ञासा समेत राख्नुभयो ।
कार्यक्रममा समालोचक प्रा.डा. कुमार कोइराला, कवि कृष्णप्रसाद भट्टराई, प्रा.डा. प्रयागराज बाशिष्ठ, लेखक प्रा।डा।रामप्रसाद दाहाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वीय दर्शनका विद्धान प्रा.डा. माधवप्रसाद भट्टराइले कृतिका लागि दाहाललाई शुभकामनासहित चाँडै अन्य कृतिहरू पनि प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । कवि दाहालले सिर्जनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम शिष्टाचार अभियान नेपालले आयोजना गरेको थियो ।