(दीपक चन्द)
भद्रपुर (झापा), १९ जेठ । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।
देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन । यहाँको भद्रपुर नगरपालिका–१ का उहाँ हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहनुभएको छ । तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो ।
विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।
मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भने पुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”